वाइडबडी प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित तीन सचिव निलम्बन !

काठमाडौं, १८ पुस — वाइडबडी खरिदमा पूर्व दुई सहित बहालवालमन्त्री र तीनजना सचिवलाई कारबाही सिफारिस गर्दै संसदीय छानबिन उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

लेखा अन्तर्गतको उपसमितिले वाइड वडी खरिदमा भएको अनियमितिबारे छानबिन गर्दै अहिलेका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवमाथि छानबिन गर्न अख्यितारलाई सिफारिस गर्ने निर्णय गर्दै प्रतिवेदनलाई केहीबेर अघि अन्तिम रुप दिएको हो ।

विमान खरिद प्रक्रिया चलेका बेला पर्यटन मन्त्री भए पनि दिलनाथ गिरीमाथि छानबिन गर्न उपसमितिले निर्देशन नदिने निर्णय गरेको एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार विमान खरिद प्रक्रियामा सहभागी भएका तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गर्ने भएको छ ।

पर्यटन मन्त्रालयका हालका सविच कृष्णप्रसाद देवकोटा, अहिले गृहसचिव रहेका प्रेम राई र शंकर अधिकारीमाथि छानबिन गर्न निर्देशन दिने गरी उपसमितिले प्रतिवेदन तयार पारेको हो । विमान खरिद प्रक्रियामा सहभागी पूर्व तथा बहालवाला मन्त्रीलाई कारबाही सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ३ बजे सुरु भएको बैठक राति १० बजेसम्म सिंहदरबारमा चलेको थियो ।

वाइड वडीमा भएको अनियमिता छानबिन गर्न सार्वजनिक लेखा समितिले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमितिले गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदन बुधबार(भोलि) ११ बजे बस्ने लेखा समितिको बैठक पेश गर्नेछ ।

उपसमितिले नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंस्साकारसहित विमान खरिदमा विभिन्न चरणमा सहभागी भएका कर्मचारीलाई निलम्बन गरी मुद्दा चलाउन अख्तियारदाई सिफारिस गरेको छ ।

प्रतिवेदनमा चार अर्ब ३१ करोड भ्रष्टाचार भएको र यो रकम अझै बढ्ने उल्लेख गरिएको स्रोतको भनाइ । विमान निर्माता कम्पनीसँग विमान गरिद गर्दा लिइएको बिल पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमले समितिमा पेश नगरेकाले अझै भ्रष्टाचार भएको रकम बढ्न सक्ने समितिका एक सदस्यले जानकारी दिए ।

उनले भने, ‘उपसमितिले निर्देशन दिँदा पनि बिल पेश गरिएन । यसबाट थप अनियमिताको रकम बढ्ने देखिन्छ । अख्तियारलाई खरिद गर्दाको बिलमाथि पनि छानबिन गर्न निर्देशन दिएका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार