काठमाडौं, २२ पुस – प्रधानमन्त्री केपीशर्मा ओलीले वाइडबडीमा भएको घोटला बारे मुख खोल्ने भएका छन् । संसदीय छानविन उपसमितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेपछि प्रधानमन्त्रीले यस विषयमा संसद्मा बोल्न लागेका हुन् ।
उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्व दुई मन्त्री तीन सचिव र नेपाल आयल निगमका महाप्रवन्धक सुगतरत्न कंसारकारलाई मुख्य दोषी भएको ठहर गरेको छ ।
सरकारले संसदीय छानविन उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । दोषी चोख्याउँन सरकारले नयाँ छानविन समिति बनाएको भन्दै आलोचना भएको छ । यो विषयमा प्रधानमन्त्री ओलीले आज संसदमा बोल्ने भएका हुन् ।
दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा वाइडबडीसँगै समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे बोल्ने बताइएको छ।
संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रक छ। पछिल्लो समय सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि रहँदै आएको छ।