डा केसीलाई आसियुमा राख्‍न चिकित्‍सकको सुझाव, इलाममा छैन सुविधा

इलाम, २ माघ  – चिकित्सा क्षेत्र सुधार माग गर्दै ७ दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ झन्–झन् बिग्रिँदै गएको छ। इलाम अस्पतालमै सत्याग्रहमा रहेका डा केसीको फोक्सोको दायाँ भागमा निमोनिया भएको छ। मुटुको गति ३५ देखि २ सयसम्म पुगिरहेको छ।

‘डा केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) चाहिएपनि इलाममा त्यो सुविधा छैन,’ इलाम अस्पतालका चिकित्सक डा विजेन्द्रकुमार साहले मंगलबार साँझ भने, ‘अक्सिजनको मात्रा ८० प्रतिशत मात्रै छ भने उहाँको रोगसँग लड्ने क्षमता निकै कमजोर भइसकेको छ।’ चिकित्सकले आइसियु सुविधा इलाममा नभएकाले डा केसीलाई मंगलबार साँझ नै रेफर गर्न सुझाव दिएपनि डा केसी अन्यत्र जान मानेका छैनन्। ‘अहिले उहाँको टाउको दुखेको छ, पेट पोलेको छ भने सास फेर्न गाह्रो भएको छ,’ उनले भने, ‘खुट्टाको मांसपेसी दुखेको र चिनीको मात्रा पनि निकै कम भएको छ।’

स्वास्थ्य अवस्था नाजुक भएपछि चिकित्सकको सल्लाहमा डा.केसीलाई एन्टिबायोटिक प्रयोग गरिएको छ। ‘डा.केसीले एन्टिबायोटिक लिन मान्नुभएको थिएन, अहिले चाहिँ उहाँले एन्टिबायोटिक लिन स्वीकृति दिनुभएको छ,’ चिकित्सक साहले भने, ‘संक्रमण हुन नदिन डा केसीलाई नजिकै भएर भेट्न हुँदैन, भेट्ने मानिसको संख्या पनि सीमित गरिएको छ।’

डा.केसीलाई सत्याग्रहस्थल फूलगाछीबाट सोमबार बिहान ९ बजे इलाम अस्पताल सारिएको थियो। डा केसीलाई अहिले पनि नर्मल स्लाइन र अक्सिजन लगाएर राखिएको छ। डा.केसीको अवस्था अझ बिग्रिए उनलाई कि विराटनगर, कि धरान लैजानुनर्पे हुनसक्ने चिकित्सक साहले जनाए।

डा.केसीको जीवनरक्षा गर्न माग

इलामका नागरिकले सत्याग्रहमा रहेका डा.गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन्। स्थानीयले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर कुनैपनि बेला दुर्घटना हुनसक्नेप्रति ध्यानाकर्षण गराएका छन्। प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाइएको ज्ञापनपत्रमा डा.केसीसँग भएका सम्झौता पूरा गर्दै उनको जीवन बचाउन माग गरिएको छ।

विशेषज्ञ टोली तैनाथ

सत्याग्रहमा रहेका डा केसीको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञको टोली तयारी अवस्थामा राखिएको छ। कुनैपनि बेला ‘आदेश आउनेबित्तिकै’ औषधि र उपकरणसहितको टोली इलाम हिँड्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका सहनिर्देशक विकास साह, मुटुरोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियाका डा.सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र यादवलगायतको टोली तयारी हालतमा राखिएको हो। प्रतिष्ठानका उपकुलपति आरके रौनियारले प्रदेश सरकारको निर्देशनअनुसार डा.केसीको उपचारका लागि विशेषज्ञ टोली तैनाथ गरिएको बताए। ‘प्रदेशबाट आदेश आउनेबित्तिकै टोली इलाम जान्छ,’ उनले भने, ‘हामीले डा.केसीको शारीरिक समस्या बुझेर त्यहीअनुसार विशेषज्ञ तैनाथ गरेका छौं।’

इलाममा आइसियु सुविधा नभएपनि धरानबाट आउने विशेषज्ञ टोली इलाममै आइसियुको सेवा दिने प्रयास गर्ने उनले बताए। ‘औषधि र उपकरणसहितको टोलीले आइसियुजत्तिकै सेवा दिन सक्छ,’ उनले भने, ‘प्रतिष्ठानसँग निकै जटिल समस्यामा पनि उपचार गर्ने औषधि, उपकरण र जनशक्ति छ।’

प्रतिष्ठानले विशेषज्ञ टोली इलाम पठाइसकेपछि तिनै चिकित्सकले डा केसीलाई समर्थन गर्ने सम्भावनाले गृह मन्त्रालयले बीच बाटोबाटै विशेषज्ञ टोली धरान फर्काएको स्रोतले जनाएको छ। तर, उपकुलपति रौनियारले भने, ‘टोली तैनाथ मात्र गरिएको हो, हिँडिहालेको छैन, बीच बाटोबाट फर्काइएको पनि झुटो सूचना हो।’ प्रतिष्ठानकै आवाशीय ४ चिकित्सकहरूको एक टोली डा.केसीको स्वास्थ्य अवस्था बुझ्न इलाम आउँदैछ। ‘आवश्यक परे डा.साबको उपचार गर्न पनि सक्छौं तर हामी सत्याग्रहमा समर्थन जनाउन चाहिँ आउँदैछौं,’ टोलीमा रहेका आवासीय चिकित्सक कविराज पौडेलले भने।

जुम्लामा २७ दिनसम्म १५औं सत्याग्रहमा बसेका डा.केसीलाई काठमाडौं ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएको थियो। तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग अक्षरशः पालना नभएपछि डा.केसीले २५ गते साँझ नै १६औं सत्याग्रह थालेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार