नेविसंघ कार्यसमितिको म्याद १० माघ सम्मलाई थपियो

काठमाडौं, २ माघ — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद फेरि थपिएको छ ।आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो तर, प्रवक्ता शर्माले यहि माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म कायमै रहने बताएका हुन् ।

म्याद थप गर्ने आधिकारिक निकाय पार्टी मात्र हुने र पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ १० गते बस्ने भएकाले नेविसंघमा अब के हुन्छ भन्ने चासोको विषय भनेको विद्यार्थीहरु बताउँछन् । बिहीबारबाट अध्यक्ष नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको वैधतामाथि प्रश्न उठ्ने उनीहरु बताउँछन् ।

अध्यक्ष महर निकटका उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रबार सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

त्यस्तै सहमहामन्त्री हरिहर शर्मा नेतृत्वमा ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएका थिए । राजीनामा बुझाएका विद्यार्थी नेताहरुले महरको नेतृत्वमा महाधिवेशन हुन नसक्ने देखिएपछि संगठनलाई निकास दिन मार्गप्रशस्त गर्न आफूहरुले राजीनामा दिएको दाबी गर्छन् । हालसम्म ७७ जिल्लामध्ये १६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार