काठमाडौँ , ४ माघ – इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएपछि बिहीबार रातीनै काठमाडौं ल्याइएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट साँझ आइपुगेको टोलीले केसीको स्वास्थ्य परिक्षण गरि अवस्था चिन्ताजनक भएको र अन्यत्र जान सुझाव दिएपछि रातीनै डा केसीलाई काठमाडौं ल्याइएको हो।
डा. केसीलाई एम्बुलेन्समार्फत भद्रपुर विमानस्थल लगेर सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए। डा केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै गत पुस २५ देखि इलाममा १६ औं अनसनमा बस्दै आएका थिए।
नौ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको मुटुको चाल निरन्तर अनियमित भइरहेपछि राति नै काठमाडौं ल्याइएको हो। साँझ अचानक मुटुको चाल घटेपछि चिकित्सक र स्वास्थ्यकर्मीसमेत निकै आत्तिएका थिए ।
धरानबाट गएका विशेषज्ञले पनि कुनै पनि शर्तमा ढिला गर्न नहुने सुझाब दिएर तत्कालै आइसियू भएको ठाउँमा रिफर गर्न लागिएको मेडिकल सुपरीटेन्डेन्ट डा बृजेन्द्र साहले हेल्थपोस्टलाई जानकारी दिए ।
साँझ अचानक मुटुको चालमा ठूलो समस्या देखिएपछि विशेषज्ञ कुनै पनि अवस्थामा ढिला गर्न नहुने सुझाब दिएकोले तत्कालै आइसियू भएको ठाउँमा रिफर गर्न लागिएको मेडिकल सुपरीटेन्डेन्ट डा. बृजेन्द्र साहले जानकारी दिए।
पटकपटक समस्या देखिएपनि यसअघि उपचाररत चिकित्सकले मुटुको औषधि चलाउन सुझाब दिँदा पनि डा. केसीले अस्वीकार गरेका डा. साहको भनाई छ । साहका अनुसार मुटुमा थप समस्या आएमा चिकित्सकीय प्रयासले पनि केही गर्न नसक्ने अवस्था आउनसक्छ ।
डा. केसी मुटुको पहिलेदेखि नै बिरामी भएको तर अनशनका कारण औषधि छुटेकाले खतरा बढ्दै गएको उनको भनाइ छ । ‘दुईजना पारामेडिक्स नियमित डा. केसीको मुटुको चाल मोनिटरिङमा खटिएको छ । डा. केसी २ दिनदेखि निकै कम र बिस्तारै मात्र बोल्नुहुन्छ,’ मेसु साहले भने ।
अनसनमा रहदा स्वास्थ्य जटिल बन्दै गएपछि डा. केसीलाई गत सोमबार इलाम अस्पतालमा भर्ना गरिएको थियो। डा केसीलाई भेट्न र उनका माग प्रति ऐकेबद्धता जनाउन चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधान न्यायधिश शुशिला कार्की र पूर्व सभामुख दमननाथ ढुंगाना बिहीबार साँझ इलाम आएका थिए।