स्विजरल्यान्डमा हुनगइरहेको वर्ल्ड इकोनोमिक फोरममा नेपालको प्रधानमन्त्री पहिलोपटक सहभागि हुँदै

काठमाडौं, ६ माघ – प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्यान्ड जाँदैछन् । स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज त्यसतर्फ जान लागेको बताएको छ ।

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन् ।

भ्रमणका बारेमा कुरा गर्दै डा. भट्टराईले वल्र्ड इकोनोमिक फोरममा नेपालको प्रधानमन्त्री पहिलोपटक सहभागि हुन लागेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यो कार्यक्रममा नेपालको प्रधानमन्त्रीलाई पहिलो पटक निमन्त्रण गरिएको पनि बताए । नेपालमा द्धन्द्ध, अस्थिरता र संक्रमण काल सकिएर राजनीतिक स्थायित्व कायम भएकाले मञ्चमा स्थान दिइएको भट्टाराईको दावी छ ।

वल्र्ड इकोनोमिक फोरममा सहभागि भएर नेपालको आर्थिक विकास र समृद्धिको यात्रामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरिने उनले बताए । छिटो विकासका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय साझेदारी प्राप्त गर्नका यो भ्रमण फलदायी हुने उनको जिकिर छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् । सम्मेलनमा ओलीले ३ वटा छुट्टा–छुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास नेपालको छ । टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार