कांग्रेसले अवरोध गरे पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने !

काठमाडौं, ८ माघ – प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ । सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने भन्ने थियो ।

आफ्ना दुईजना पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालाई सरकारले विघटन गर्ने षड्यन्त्र गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि र राष्ट्रियसभाको बैठक माघ १४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख रहेको स्रोतले बताएको छ । दुवै पक्षले मंगलबारको बैठकका लागि ह्विप जारी गरेका छन् ।

सरकारले तनहुँको जीपी कोइराला स्वास–प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत नराखेर खारेज गर्न खोजिएको भन्दै कांग्रेसले तत्कालै संघको मातहत ल्याउने निर्णय गर्नुपर्ने अडान राखेको छ ।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिएका थिए । उपनेता गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका अग्रज गिरिजाप्रसाद कोइराला र सुशील कोेइरालाको नामका अस्पताल खारेज गर्न खोजिएको आरोप लगाए ।

उनले कांग्रेसको नेतृत्वमा अहिलेसम्मका आन्दोलन र क्रान्तिहरुको उपलब्धि संस्थागत भएको स्मरण गर्दै ‘के यो सरकारले कांग्रेसको अस्तित्व मेटाउन खोजेको हो ?’ भन्दै प्रश्न गरे । उनले सरकारले यी दुई अस्पतालको अस्तित्व जोगाउन तत्काल गठन आदेशमार्फत् केन्द्र सरकारको मातहत नल्याए संसद अघि बढ्न नदिने चेतावनी दिए ।

उपनेता गच्छदारले यसरी विगतका निर्णय उल्ट्याउने हो भने बीपी कोइरालाका नाममा बनेपादेखि बर्दिवाससम्मको राजमार्गको नाम केपी ओली राजमार्ग नामाकरण गर्न र नेपाली सेनामा समायोजन भएका माओवादी लडाकूलाई पनि फिर्ता गर्न चेतावनी दिए ।

कांग्रेसको अवरोध जारी रहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरे । बैठक स्थगित भएपछि सभामुखसहित सत्तापक्ष र विपक्षबीच अवरोध हटाउन छलफल भएपनि सहमति हुन सकेन । दोस्रोपटक पनि सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षीदलका सांसदहरुले काम–कारबाही अगाडि बढाउन दिएनन् ।

गच्छदारले अनशनरत् डा. गोविन्द केसीसँगको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याइएकोमासमेत आपत्ति जनाएका थिए ।कांग्रेसको अवरोधका कारण कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि पनि छलफल हुन सकेन ।

राष्ट्रियसभाको बैठक पनि दुईपटक स्थगित

कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठकपनि दुईपटक स्थगित भयो । पूर्वसभापतिद्वय कोइरालाका नाममा खोलिएका अस्पताललाई संघीय सरकारको मातहतमा ल्याएर सन्चालन गर्ने निर्णय नभएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि दुईपटक बैठक स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार