काठमाडौं, १० माघ – सरकारी चिकित्सक संघ नेपालले सत्याग्रही डा गोविन्द केसीसंग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ । डा गोविन्द केसी अनशनको विषयलाई लिएर ठोस निर्णयमा पुग्न नेपाल चिकित्सक संघले आकस्मिक बृहत बैठक बोलाएको छ ।
यसअघि अन्य आवासीय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् ।बिहीबार बिहान विज्ञप्ति जारी गर्दै संघले गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि डा केसी १६ औं पटकसम्म आमरण अनसनमा बस्न पर्नु अत्यन्तै दुर्भाग्यपुर्ण भएको भन्दै उनको स्वास्थ्य नाजुक हुँदा पनि जीवनरक्षाको सवालमा ठोस पहलकदमी हुन नसक्नुको जति निन्दा गरे पनि कम हुनेछ भनेको छ ।
अनशनको १६ औं दिन भइसक्दा पनि र स्वास्थ्यसमेत जोखिमपूर्ण बन्दै जाँदा सरकार झन् झन् कठोर बनेपछि संघले वृहत बैठक बोलाएको हो । यद्यपी संघका महत्वपूर्ण पदाधिकारीहरु सरकारसँग डराएर आन्दोलनमा जान हिचकिच्याइरहेको र बाहना गरिरहेको आरोप चिकित्सकहरुको छ।
आजको भेलामा उपत्यकाका ठूला अस्पतालका निर्देशकहरु संघका पूर्व अध्यक्ष र वरिष्ठ चिकित्सकहरुलाई समेत बोलाइएको संघले जनाएको छ । संघलाई खुट्टा नकमाउन आवासीय चिकित्सकहरुले आग्रह गरिरहेका छन्।