टेकु पचलीमा सहिद शुक्रराज शास्त्रीको सालिक अनावरण

काठमाडौं, १० माघ  – काठमाडौंको टेकु पचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिएको स्थानमा उनको पूर्ण कदको सालिक अनावरण गरिएको छ। यस वर्षको शहीद सप्ताहका कार्यक्रमअन्तर्गत माघ १० गते खरिबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जलिसभामा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शालिकको अनावरण गरे।

महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको सालिक निर्माण गराएको हो। शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा झण्ड्याइएको थियो। शालिकलाई यात्रुहरूले अनुहार देख्ने गरी पूर्व मोहोडा बनाएर राखिएको छ।

शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पारेका हुन्। सो कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले सहिदको बलिदानीले अहिलेको प्रणालीमा आइपुगेको प्रसङ्ग उल्लेख गर्दै यस प्रणालीलाई टिकाउन सवै दलको एउटै दृष्टि हुनु पर्ने बताए।

अहिले सरकार परिवर्तन भएको होइन, प्रणाली परिवर्तन भएको हो। यो प्रणाली स्थापना गर्न सहिदको योगदान बिर्सन नहुने बताउँदै उनले भने, ‘प्रणालीलाई संस्थागत गर्न पक्ष र प्रतिपक्ष भएर हुँदैन।’ सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने सहिदहरुको योगदान आफ्ना लागि सिकाइ भएको बताए।

सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ। ‘हामी पनि लामो समयसम्म चर्चा हुने काम गर्न चाहन्छौं तर धेरै बोलेर काम गर्नै नदिने परिपाटीले हैरान बनाएको छ’, मेयर शाक्यले जुन कुरामा पनि नराम्रो मात्र देख्ने परिपाटीमाथि टिप्पणी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार