सरकारलाई नेपाल चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम

काठमाडौं, १० माघ – नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको कदम चाल्न सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ । प्रधानमन्त्री स्वयंले अलग परिस्थितिमा सम्झौता भएको भन्दै संसदमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र डा. केसीबारे गलत प्रचार भएको भन्दै निन्दा गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गरी ७२ घन्टाभित्र वार्ता टोली बनाएर डा. केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । नभए आइतबार १ बजे उपत्यकाका चिकित्सकहरु शिक्षण अस्पतालमा भेला भएर थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने चिकित्सक संघको निर्णय छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले देशभरका चिकित्सकलाई कडा आन्दोलनका निम्ति तयार रहन आग्रह गरेका छन् ।संघले आवासीय चिकित्सकहरूले शुक्रबारदेखि गर्ने भनेको आकस्मिकबाहेकको सेवा बहिष्कार कार्यक्रममा पूर्ण समर्थन जनाएको छ ।

अध्यक्ष श्रेष्ठले चिकित्सकको कठोर आन्दोलन अप्रिय हुने र सरकारलाई घुँडा टेकाएर मात्रै रोकिने चेतावनी दिए । १६ दिनदेखि अनशनरत डा. केसीका माग पूरा गर्न वार्तासमेत सुरु नभएको भन्दै सरकारविरुद्ध संघले देशव्यापी आन्दोलनको तयारीस्वारूप बिहीबार राजधानीमा बृहत् भेला आयोजना गरेको थियो ।

कार्यकारी समितिबाट विज्ञाप्ति जारी गरेर कार्यक्रम घोषणा गर्नुपूर्व डाकिएको भेलामा डा. श्रेष्ठले सरकारले दुईतिहाइको दम्भ देखाएर समाधान खोज्नुभन्दा मुठभेड निम्त्याइरहेको भन्दै उनले त्यसविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले पछिल्लो समय चिकित्सकहरूमा विभाजन ल्याउन खोजेको र आन्दोलनमा आए देखाइदिन्छु भनेको पनि सुनिएको बताउँदै भने, ‘तपाईंहरू आन्दोलनका लागि तयार हुनुस्, कसैले छोयो भने म जिम्मेवारी लिन्छु ।’

श्रेष्ठले यसपटक एकजना इमानदार चिकित्सकको सत्याग्रहलाई सिध्याइदिने भन्दै पेलेर जाने रणनीति बनाइएको, ‘तिघ्रा देखाएर, मुन्द्रा लगाएर’ धम्क्याउन खोजेको भन्दै त्यसविरुद्ध संघ लड्न तयार भएको बताए । ‘हामी हिजो पनि मर्न तयार भएर गोली थापेर लडेका मान्छे हौँ, कान खोलेर सुन, पावरको दम्भ देखाइयो भने स्थिति नियन्त्रणबाहिर जान्छ र दुर्भाग्यपूर्ण अवस्था आउँछ,’ उनले भने, ‘बाढी आएपछि बढारिन्छ ।’

उनले पछिल्लो समय चिकित्सकहरूमा विभाजन ल्याउन खोजेको र आन्दोलनमा आए देखाइदिन्छु भनेको पनि सुनिएको बताउँदै भने, ‘तपाईंहरू आन्दोलनका लागि तयार हुनुस्, कसैले छोयो भने म जिम्मेवारी लिन्छु ।’

उनले चिकित्सकहरूलाई आन्दोलनमा लाग्दा धम्की आएको भन्दै एक–दुई मुक्का खाए पनि नडराउनसमेत आग्रह गरे । उनले सरकारले सत्याग्रहीविरुद्ध गलत प्रचार गर्न गिरोह खटाएको आरोपसमेत लगाए । ‘१५औँ अनशनसम्म सँगै भएका केही साथीहरू सत्ता र सरकार फेरिएपछि यूटर्न भए,’ उनले भने, ‘हामी पनि बिरामीप्रति संवेदनशील भएरै मौन बसेका हौँ, बाढी आएपछि को–को बढारिन्छ हेरौँ !’

अघिल्ला अनशनमा सरकारले वार्ताटोली बनाउने, वार्ता गर्ने गरेको सन्दर्भमा यसपटक पेलेरै जान्छौँ भन्ने दम्भ पालेको संघको आरोप थियो । ‘चिकित्सकहरूमा एकता भयो भने हामीलाई कसैले छुन सक्दैन, एउटा ड्राइभरलाई कसैले छुन सक्छ ?’ डा. श्रेष्ठको प्रश्न थियो, ‘तर, हामी डाक्टरहरू साना स्वार्थमा लिप्त हुँदा हेपिइरहेका छाै ।’

पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले प्रश्न गरे, ‘एउटा निष्ठावान् डाक्टर मृत्युको शय्यामा बस्ने ? चिकित्सक संघ मौन बस्ने ?’ उनले भने, ‘त्यस्तो अवस्थामा घाँटीमा झुन्ड्याइएको स्टेथेस्कोपले समेत धिक्कार्छ ।’

डा. केसीसित दुईतिहाइ बहुमतप्राप्त प्रधानमन्त्रीले गरेको प्रतिबद्धता र नेकपाकै वरिष्ठ नेताको उपस्थितिमा भएको सम्झौता विपरीत विधेयक आजै र अहिल्यै विधेयक पास गर्छु भन्ने दम्भ नसुहाउँदो भएको उनले बताए । ‘एउटा डाक्टर त्यही प्रतिबद्धता कार्यान्वयन नगरेर अनशनमा छ, सरकार आजको आजै सम्झौता विपरीत विधेयक परित गर्छु भनेर पेलिरहेको छ, यसमा के स्वार्थ छ ?’ डा. केसीले भने ।

वाइडबडी खरिदमा भएको अनियमितताका सन्दर्भमा संसदीय सर्वोच्चता बिर्सेको सरकारले अहिले संसदीय सर्वोच्चताको तर्क गर्न नसुहाएको उनको भनाइ थियो । संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले संघले सरकारलाई चेतावनी दिएर क्रमशः दबाब बढाउँदै लानुपर्ने मत राखेका छन् ।

अन्तरक्रियामा धारणा राख्दै सरकारी चिकित्सक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले चिकित्साशिक्षा विधेयकको बचाउ गरे । उनले संघले उठाएका अधिकांश माग विधेयकमा समेटिएको बताए । उनले डा. केसीको जीवनरक्षा हुनुपर्नेमा भने जोड दिए ।

अन्तरक्रियामा नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन त्रिवि अस्पतालका अध्यक्ष डा. सुमित पाण्डेले डा. केसीको जीवनरक्षाको माग गर्दै आवासीय चिकित्सकहरू शुक्रबारदेखि नै इमर्जेन्सीबाहेकका सेवामा सरिक नहुने जानकारी दिए । उनले सरकारले १५औँ अनशनमा गरेका सम्झौतालाई उल्लंघन गरेकाले त्यसविरुद्ध संघको नेतृत्वमा सम्पूर्ण डाक्टर आन्दोलित हुनुको विकल्प नरहेको बताए ।

रेजिडेन्ट डक्टर्स अफ न्याम्स (र्यान)का अध्यक्ष डा. शरदचन्द्र बरालले डाक्टरहरूलाई आन्दोलन गर्ने रहर नभएको तर बाध्यता आइपरेको बताए । मन्तव्य राख्ने अधिकांश चिकित्सकले डा. केसीको जीवनरक्षाका लागि कडा आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार