कांग्रेसका सांसदहरुले नाराबाजी गरे,सभामुख महरा लरबराएपछि…

काठमाडौं, १२ माघ – प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको ३४ मिनेट भएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध जारी राखेकै अवस्थामा सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अघि बढाए ।

विधेयक पारितको प्रक्रिया अघि बढाउने क्रममा महराले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षाको अंग बनाउन निर्णयार्थ पेस गरे । नेकपाका सांसदरुले पक्षमा मतदान गर्दै ‘हुन्छ’ भने । कांग्रेसका सांसदहरुले नाराबाजी जारी गरिरहेका थिए ।

नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गर्दै ‘हुन्न’ भने । अनि सभामुख महराले भने,‘हुन्न भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षाको अंग बनेको घोषणा गर्दछु ।’ महराले निर्णयअनुसार हुन्छ भन्नेको बहुमत भएको बोल्नु पर्नेमा हुन्न भन्नेको बहुमत भएको भन्दै निर्णय प्रक्रिया टुङ्ग्याए ।

यो निर्णय सुनाउने वित्तिकै पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव र भीम रावल कानेखुसी गर्न थाले । सञ्चारमन्त्री गोकुल बाँस्कोटा छटपटाउन थाले । अरु सांसदहरु पनि आपसमा कुरा गर्न थाले ।

यो निर्णय सुनाएपछि सभामुख महरा विधेयकको प्रस्तावना अंग बनाउन प्रस्तावनामा लेखिएको कुरा पढ्न थाले । यो पढ्दा पनि लरबराई रहे । विधेयकको प्रस्तावना नाम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ अंग बनेको घोषणा गर्दा सचिवालयका कर्मचारीले सभामुख महरालाई गल्ती सुनाउन गए ।

तर, सभामुख महराले सच्याउन चाहेनन् । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न रोस्टममा पुगेका मन्त्री विधेयक पारित गरियोस् भन्ने प्रक्रिया पूरा गर्दा मन्त्री पोखरेल रोस्टमै उभिरहे । सभामुख महराले पारितको प्रक्रिया पूरा गरिरहे ।

विधेयक पारित भइसकेपछि सभामुख महराले सचिव गोपालनाथ योगीलाई बोलाएर भने,‘मैले हुन्न भनेको हो र ? सच्याउनु पर्ने छ ?’ कर्मचारीले दिएकै सल्लाहक आधारमा सभामुखले आफ्नो गल्ती सच्याउनसमेत चाहेनन् । अर्को बैठक माघ १७ दिनको १ निर्धारण गरेर बैठक टुङ्ग्याए । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार