हामीमध्ये धेरै नेपालीलाई डा. गोविन्द केसी केका लागि लडिरहेका छन् भन्ने हेक्का नै छैन । हेक्का भइसक्दा बेर भइसक्नेछ । जब हाम्रा केटाकेटी गलत औषधी परेर छट्पटाउनेछन्, जब सुत्केरी बुहारी रगतको आहालमा पर्नेछिन्, जब मानसिक रूपमा बिरामी भाइलाई गलत औषधी परेर आत्महत्या गर्नेछन्, जब निमोनिया भएकी बहिनीलाई जन्डिसको औषधी दिइनेछ, त्यो बेला पशुपतिले बचाए त ठिकै छ, नत्र त नेपालीको भाग्य नै त्यस्तो भने हात बाँधेर नै बसिरहनु पर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका अस्पतालमा नेपाली डाक्टर र नर्सबाट सेवा लिनु पर्दैन । उनी त थाइल्याण्डमा जान्छन् । प्रचण्डको त झन कुरै भएन । जनयुद्धका बेलामा जंगलमा नेपाली डाक्टर र हेल्थ असिस्टेटबाट आफ्ना सिपाहीहरुलाई उपचार गराएका, उनले आफू र परिवारका मानिसहरुलाई त पदमा आएपछि बिरामी हुँदा बाहिर गएर नै उपचार गराउने “रोग” लाग्यो । आफ्नो परिवारको टाउको दुख्दा सिँगापुर, पेट दुख्दा थाइल्याण्ड जाने बानी बसेपछि उनलाई नेपालका अस्पतालहरु किन आखा लाग्थ्याे र ? आफूलाई उपचार गराउन नपर्ने भएपछि साधारण जनलाई जे सुकै होस के वास्ता र ?
त्यसैले जसरी भए पनि जुनसुकै तरिकाले भएपनि अनेक मेडिकल कलेज खोलेर खराब स्वास्थ्यकर्मीहरु उत्पादन गरेर सबै दलका नेता आफ्नो बैंक बढाउन चाहन्छन् ।
कति मेडिकल कलेजमा ओली, प्रचण्ड, देउवा र उनका अनुयायीहरु त साधारण झाडा पखाला लाग्दा पनि त्यहाँ आउँदैनन् । नेताजीहरु र उनका परिवार समस्या पर्दा वीर अस्पताल समेत जादैनन् । किनभने वीर अस्पताल त गरीबका लागि मात्र हो ।
राजनेताले वीर अस्पताललाई यसरी बिगारिदिएका छन् कि बिचरो बुढो वीर अस्पताल टक्क उभिएको छ । आफूभित्र भएभरका पिडा बोकेर । त्यहाँको फोहोर शौचालयको गन्ध सुँध्न कर्णालीदेखि मेचीसम्मका बिरामी आउँछन । त्यस्ता गरीब अशक्त बिरामीलाई जेठो अस्पताल भएर पनि केही पनि सुविधा दिन नसकेकोमा लाज अनुभव गर्छ बिचरो अस्पताल नेताजीहरु जाने भए पो त वीर अस्पताल सफा सुग्धर हुन्थ्यो ।
नेता पुत्र र पुत्री बिरामी भए जाने भए पो त वीर अस्पतालका शौचालय सफा गरिन्थ्यो । फिनेल हालिन्थ्यो, कुचो लगाइन्थ्यो । नेता र उनका परिवार त कानमा कानेगुजी फुलेर दुख्यो भने पनि उडेर मेदान्त र एपोलो जान्छन र कानेगुजी निकाल्छन । त्यसैले नेपालका वीर अस्पताल त जे होस् के वास्ता ।
त्यसैले नेताजीहरुले नेपालमा जतिसुकै मेडिकल कलेज खुलुन, जहाँ खुलुन किन टाउको दुखाउनु र ? नेपालमा कलेजका पुर्वाधार पुगेको छ कि, छैन, पढाउने शिक्षक कस्ता छन भने छलफल किन गरिहनु पर्यो र ? ‘नजाने गाँउको बाटै नसोद्धा’ हुन्छ ।
नेपालका विभिन्न स्कुलको नाम विदेशी भयो भनेर वितण्डा मचाएर स्कुल बन्द गराउने विधार्थी संगठनहरु अहिले मेडिकल शिक्षाको दुर्गती हुँदा चुपचाप लागेर बसेका छन् ।
नेताजीको कुकुर र बिरालाको बाटो काट्दा मोटरसाइकइलले ठक्कर दिएर जनावरको एउटा खुट्टा भाँचियो भने ठूलो जुलुस निकाल्दै मोटरसाइकल चालकलाई पिटेर मोटरसाइकल जलाउँछन । कुकुर बिरालो ‘दुर्भाग्यवश’ वरा अस्पतालमा उपचार गर्दा गर्दै मर्यो भने कुकूर र बिरालोलाई शहिद घोषणा नगर्ने बेलासम्म बाटो बन्द गरेर “शहिद” कुकुर बिरालाका मालिकलाई दश लाख रुपैयाँ सरकारबाट दिलाएर नै छाडने सबै विधार्थी संगठन चाहीँ मौन छन । मेडिकल शिक्षाको निमर्मतापूर्वक बलात्कृत गरिदाँ र शिक्षा माँरिदा ।
किनभने विधार्थीहरु संगठनले वास्तवमा विधार्थीहरुको प्रतिनिधित्व गरेको नै छैनन् । उनीहरु त भातृ र भगिनी संगठन मात्र हुन । दलका नेताहरुले स्वार्थ सिद्धि गर्ने । तर भातृ संगठनहरुका विधार्थीहरुले किन बिर्सेका होलान कि उनीहरुको परिवार बिरामी हुँदा चाँही उनीहरु मेदान्त र सिंगापुर जान सक्ने छैनन । नेताहरु गए जस्तै । उनीहरुलाई त काठमाडाैंका वीर अस्पताल, मेडिकल कलेज र तराईका अस्पताल जचाँउन आउनुपर्छ ।
त्यही बेला दलका नेताहरूचाहिँ पेरिस र लन्डन जानेछन् अनि आफ्नो स्वास्थ्य जाँच गराएर फकर्नेछन् । उनीहरूलाई पैसाको कुनै मतलब हुने छैन । रुकुमकी शोभा, भोजपुरकी रोमा, जनकपुरकी जानकी, ओखलढुङ्गाकी मंगला जब बिरामी भएर तड्पिरहन्छन्, नेताहरूलाई कुनै मतलब हुने छैन ।
गलत तरिकाले जथाभावी मेडिकल कलेज खोल्ने प्रवृत्तिको विरोध विद्यार्थी संगठनहरूले गर्नु पर्दैन?
मेडिकल शिक्षा र सुविधा सर्भसुलभ हुनुपर्छ, योग्यताको आधारमा डाक्टर र नर्स बन्न पाउनुपर्छ भनेर आवाज उठाउनु पर्दैन ? विचार गर्नुस् त विद्यार्थीहरू, तपाईको बुबालाई दमको व्यथा लागेर कुनै अस्पतालमा उपचार गर्न लाँदा डाक्टरले गलत औषधी–उपचार गरिदियो भने के हुन्छ? त्यो बेला बल्ल विद्यार्थी नेतालाई थाहा हुन्छ, मूकदर्शक भएर बस्दा चुकाउनुपरेको मूल्य । त्यसैले मेडिकल शिक्षालाई गलत व्यापार बनाउन नदिन विद्यार्थी संगठनहरू अहिले नै बोल्ने हो कि ?
वामपन्थी सरकारलाई साधुवाद
८ वर्षअघि म जानकी मेडिकल कलेजमा जाँदा त्यहाँ आकस्मिक कक्षमा एउटा पालेमात्र थिए । भूइँमा एउटा कुकुर सुतिरहेको थियो । त्यो कक्ष डुङडुङ्ती गनाइरहेको थियो । त्यहाँ बिरामी आएपछि डाक्टर बोलाउने चलन रहेछ । नर्स, हेल्थ असिस्टेन्ट आदि खाजा खान गएको उत्तर पाइयो ।
३ तला चढेर गएपछि २ जना बिरामी भेटिए । झाडापखाला भएर आएका उनीहरूलाई सलाइन पानी दिइएको थियो । बिरामीबारे लेखिएको नोट खोज्दा पाइएन । आधा घन्टा बसेपछि एकजना नर्स आइन् । नर्सले नोट डाक्टर आएपछि मात्र लेख्ने बताइन् । काठमाडौं आएर एक सातापछि ‘साझा सवाल’ कार्यक्रममा मैले भनेकी थिएँ, ‘जानकी मेडिकल कलेजको अवस्था उप–स्वास्थ्यचौकी जस्तो पनि छैन ।’ जानकी मेडिकल कलेज जेनतेन गरेर चलिरहेको छ, विद्यार्थी छन् । तर त्यहाँ बिरामी छैनन्, जाँच्ने डाक्टर छैनन् ।
पहिले-पहिले खोलिएका निजी मेडिकल कलेजको दुर्गति देखेपछि पनि सरकार आफ्ना केही आसेपासेलाई खुसी पार्न, व्यापारीको कालो पैसा सेतो बनाउन नयाँ–नयाँ मेडिकल कलेज काठमाडौंमै खोल्ने, आफ्नो अस्पताल नभए पनि हुनेगरी कानुन बनाउन खोज्दैछ । ‘वामपन्थीहरू बहुमत लिएर सत्तामा आएपछि स्वास्थ्य र शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउँछन्’ भन्ने सुनिएको थियो । साँच्ची नै सरकारले क्रान्तिकारी परिवर्तन ल्याउन लागेछ । अब खुल्ने मेडिकल कलेजमा राम्रो व्यवस्थापन, बिरामी हेर्ने डाक्टर, अस्पताल, उपकरण आदि केही नभए पनि हुन्छ । मुन्ना भाइ एमबीबीएस फिल्मका मुन्नाले ‘अस्पताल’ खोलेर आफ्ना नक्कली बिरामी बुबालाई देखाए जस्तै जताततै अस्पताल खुल्नेछन् । व्यावहारिक ज्ञान त पछि बिरामी हेर्दै जाँदा सिकिहाल्छन् नि !
धेरै वर्षअघि एक वामपन्थी नेताले एक डाक्टरलाई भनेका थिए रे, ‘सबैले नेपालीको प्रमुख रोग ग्यास्ट्रिक भन्छन् । वामपन्थी सरकारमा आएपछि त यो ग्यास्ट्रिक त खतम हुन्छ, किनभने यसको कारण नै मानसिक तनाव हो । वामपन्थी सरकारमा आएपछि नेपालीको तनाव खतम हुन्छ । अनि त केको ग्यास्ट्रिक ! वामपन्थीले त स्वास्थ्य, शिक्षा र जमिनको प्रयोगमा क्रान्तिकारी कदम चाल्छ ।’
अहिले वामपन्थी नेतृत्वको सरकारले सरकारी वीर अस्पतालको दुर्गति देखेन । वामपन्थी सरकारले सिरहा, सप्तरी, राजविराजमा रहेको सगरमाथा अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पतालको दुर्गति देखेन । जनकपुर अस्पतालको दुर्गन्ध र उपकरणरहित कोठा देखेन । सरकारले देख्यो, जसरी भए पनि मेडिकल कलेज चलाएर पैसा कमाउने व्यापारीको अनुहार ।