काठमाडौं, १६ माघ – राष्ट्र र समाजको विकासका लागि ज्यानको बाजी थापेका शहीदहरु राज्यले सम्मान गर्न नसकेको बताएका छन् । शहीद स्मृति प्रतिष्ठानले शहीद दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘शहीदको योगदान र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उक्त कुरा बताइएको हो ।
कार्यक्रममा शहीद स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले शहीदको योगदानबाट आज जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बने पनि शहीदको योगदानलाई सरकारले बिर्सेको बताउनुभयो । “शहीदको योगदानबाट राष्ट्रको सर्वोच्च पदमा पुगेका व्यक्तिले शहीद परिवारलाई उपेक्षा ग¥यो,” उहाँले भन्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शहीदको सपना पूरा गर्नका लागि राजनीतिक एकता र विकास आवश्यक रहेको बताउनुभयो । “राणा शासन, पञ्चायती शासन र बहुदल प्राप्तिका लागि गरेका शहीदको तथ्याङ्क राख्नुपर्छ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले शहीदको सम्मानका लागि विभिन्न सङ्घसंस्थाको नाम शहीदको नाममा राख्नुपर्ने बताउनुभयो । पूर्वराजदूत विजयकान्त कर्णले शहीदको योगदानका कारण हामी स्वतन्त्र रुपमा हिँड्न र बोल्न पाएको भन्दै सरकारले शहीदलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।
विसं २०५३ मा स्थापना भएको प्रतिष्ठानले शहीदको सम्मान र आश्रित परिवारको सहयोगका लागि विभिन्न काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले जानकारी दिनुभयो ।