सामाजिक अभियान्ताहरुको आग्रहमा डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ, १८ माघ  — चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की सँगै विभिन्न सामाजिक अभियान्ताहरुले अनसन तोड्न आग्रह गरेका थिए ।

अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो ।

“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा‍. केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताउनुभयो ।

डा. केसीले पुस २५ गते इलाम पुगेर अनशन शुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सरकारले डा. केसीलाई थप उपचारका लागि यही माघ ३ गते त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।

डा. केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो ।

प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकाबीच सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि पनि आमरण अनसनमा रहेका उनलाई काँग्रेस सभापति शेरबहादुर देउवासँगै विभिन्न सामाजिक अभियान्ताहरुले अनसन तोड्न आग्रह गरेका थिए ।

अनसन स्थगित गर्न उनलाई शुक्रवार पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, प्रा. डा. मदन उपाध्याय, प्रा. डा. रमेशकान्त अधिकारी, प्रा. डा. अर्जुन कार्की, प्रा. डा. भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले आग्रह गरेका थिए ।

उनलाई ज्यान फालेर भन्दापनि बाँचेर नै माफियाविरुद्ध लड्न सकिने भन्दै अभियान्ताहरुले अनसन तोड्न सुझाव दिँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार