काठमाडौँ, २१ माघ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर सरकारको गलत क्रियाकलापको विरुद्ध शक्ति प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादी बनेको भन्दै नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गर्ने जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निरंकुशतातर्फ अघि बढेको सरकारलाई सच्याउन कांगेसले देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि शर्माले बताए ।
डा गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, पूर्व प्रधानमन्त्रीद्वय गिरिजा प्रसाद र शुसिल कोइरालाका नाममा रहेका अस्पताल खारेज गर्न खोजेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षको हैसियतको वास्ता नगरेको जस्ता आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको प्रवक्ता शर्माले बताएका छन् ।