काठमाडौं, २३ माघ – झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनले सुनाइन् । ‘म त लुकीलुकी भए पनि स्वास्थ्य चौकीमै आउँछु’, उनले भनिन् ।
वडा नम्बर ३ की समिरा आलमले स्वास्थ्य चौकी बन्द हुँदा पहिलो बच्चा घरमै जन्माएको सुनाइन् । दोस्रो बच्चा भने उनले बर्थिङ सेन्टरमा जन्माइन् । ‘घर अगाडि नै स्वास्थ्य चौकी बनेर हामीलाई सहज भएको छ’, उनले भनिन्, ‘तर, चेकजाँचका लागि घरमा अनेक जाल बुनेर जानु पर्छ ।’ स्वास्थ्य चौकीमा रगत परीक्षण पनि भए त्यसले धेरै महिलालाई सजिलो हुने उनको भनाइ छ ।
स्वास्थ्य जाँच अनि प्रसूतिका लागि दमकको आम्दा र भद्रपुरको मेची अञ्चल अस्पताल पुग्नुपर्ने बाध्यता गाउँपालिकाले हटाइदिएको छ । यसमा पनि गर्भवती भएका बेला परीक्षणका लागि अस्पतालसम्म जान नपाउने मुस्लिम महिला लाभान्वित भएका छन् । झापा–३ का सुरेश गणेशले श्रीमतीलाई प्रसूति गराउन अस्पताल नलगेको बताए ।
‘अस्पताल लैजान मसँग पैसा थिएन, खोज्दा पाइनँ’, उनले भने, ‘८० किलोमिटर टाढा रहेको मेची अञ्चल अस्पतालमा बिरामी लैजाँदै गर्दा पुग्ने बेला दिदीको मृत्यु भयो ।’ अब त यहाँका महिलालाई सामान्य अवस्थामा सुत्केरी गराउन टाढाका अस्पतालमा कुदाउनुपर्ने बाध्यता नरहेको उनको भनाइ छ ।
यहाँ रहेको बर्थिङ सेन्टरले ६ महिनामा २१ महिलालाई प्रसूति सेवा दिएको छ । तीमध्ये अधिकांश मुस्लिम समुदायका छन् । टाढाका अस्पताल लानुपर्ने बाध्यतालाई मध्यनजर गरी ६ महिनाअघि सेवा दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।
उनका अनुसार स्वास्थ्य चौकी पाँच वर्षजति बन्द भएको थियो । बर्थिङ सेन्टर स्थापनासँगै मुस्लिम महिलासमेत गर्भ जाँच र प्रसूतिका लागि आउने गरेको उनले सुनाए ।‘यो खुसीको कुरा हो’, उनले भने, ‘मुस्लिम समुदायमा गर्भ परीक्षणका लागि अस्पताल जान हुँदैन भन्ने मान्यता छ । तर, मुस्लिम महिला लुकीलुकी भए पनि नियमित परीक्षणका लागि आउने गरेका छन् ।’
यहाँ मुस्लिम र आदिवासी जनजाति बाहुल्य छ । बर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ्य जाँच गर्न आउने गर्भवतीको संख्या बढेको स्वास्थ्य संयोजक लक्ष्मण विश्वकर्माले बताए । ‘मुस्लिम समुदायका महिला घर र समाजबाट लुकीलुकी भए पनि तौल लिन र बच्चा चले नचलेको बुझ्न आउँछन्’, उनले भने, ‘प्रसूति हुने बेला परिवारसँग रोइकराइ गरेरै आउनेको संख्या नि बढ्दो छ । कोही हाट जाने बहानामा बच्चा जन्माउनकै लागि स्वास्थ्य चौकी छिर्छन् ।’
उनका अनुसार भवन नहुँदा बर्थिङ सेन्टर सञ्चालन गर्न समस्या भएको छ । ‘एउटा कोठाबाट सेवा दिन बाध्य छौं’, उनले भने, ‘गाउँपालिकाले जग्गादाताको खोजी गरिरहेको छ । जग्गा पाइयो भने भवन बनाउन कारितास नेपालले सहयोग गर्ने भएको छ ।’
प्रसूतिका क्रममा महिलालाई सरकारले प्रदान गर्दै आएको खर्चमा गाउँपालिकाले १ हजार रुपैयाँ थपेर दिने गरेको अहेव कमल प्रसाईंले बताए । ‘चौबीसै घण्टा सेवा प्रदान गर्दै आएका छौं’, उनले भने, ‘सेन्टरमा दुई अनमी र एक अहेव छौं । कर्मचारी अपुग हुँदा काम गर्न समस्या छ ।’
यो गाउँपालिकामा मुस्लिम बस्ती धेरै छ । तर, मुस्लिम महिला गर्भ परीक्षण र बच्चा जन्माउन स्वास्थ्य चौकी जाँदैनन् । प्रसूति गराउनुपूर्व गर्भवतीको रगत जाँच गर्नुपर्ने हुन्छ । गाउँपालिकामै ल्याब नहुँदा रगत परीक्षण र सुत्केरी गराउन समस्या भइरहेको छ । गाउँपालिकाले यसतर्पm छिटो ध्यान दिए धेरै जनता लाभान्वित हुने उनको भनाइ छ । ‘रगत जाँचका लागि गर्भवतीको अवस्था हेरेर आम्दा र मेची अञ्चल अस्पतालमा सिफारिस गर्ने गरेका छौं’, उनले भने ।
झापा जिल्लामा १८ बर्थिङ सेन्टर सञ्चालनमा छन् । ६ प्राथमिक स्वास्थ्य केन्द्र र १२ स्वास्थ्य चौकीबाट यो सेवा दिने गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख शशी भट्टराईको भनाइ छ । – अन्नपूर्ण पोष्ट