भेनेजुएला वक्तव्यले नेकपामा दुई धार, दुई अध्यक्ष दुई तीर !

काठमाडौं, २५ माघ – भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । सो विज्ञप्तिलाई नै सदर हुने गरी परराष्ट्र मन्त्रालयले सोही ब्यहोराको विज्ञप्ति निकालेको थियो । साथै नेकपाको सचिवालय बैठकले पनि प्रचण्डकै विज्ञप्तिलाई सदर गर्दै महासचिव विष्णु पौडेलले विज्ञप्ति जारी गर्नुभएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि भनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए ।

दाहालले भने आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेका छन् । शीर्ष नेतृत्वबीच देखिएको विवादकै कारण एकता प्रक्रियाले गति लिन सकेको छैन ।

प्रदेश कमिटीबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढाउन बनेको कार्यदल असफल बन्दै आएको छ । पार्टी एकताको टुंगो लगाउन जुट्नुपर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने भेनेजुयलाको विषयलाई लिएर आ–आफ्नो अडान अगाडि सारेका छन् । अध्यक्षद्वयबीच भेनेजुयलाको विषयलाई लिएर फरक–फरक अभिव्यक्ति आएपछि नेकपा नयाँ विवाद उत्कर्षमा पुगेको छ ।

तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले हतारमा विज्ञप्ति निकालेको अभिव्यक्ति दिएपछि नेकपाभित्र नयाँ विवाद सुरु भएको छ । पार्टी अध्यक्षको हैसियतमा प्रचण्डले जारी गरेको विज्ञप्तिलाई सचिवालय बैठकले ठीक रहेको निष्कर्ष निकालेको थियो । तर, अमेरिकाले प्रचण्ड र परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिको विपक्षमा उभिनुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले प्रधानमन्त्री ओलीलाई भेटेपछि सरकारको बोली फेरिएको छ । प्रधानमन्त्री ओलीले घुमाउरो शैलीमा अर्का अध्यक्ष प्रचण्डले विज्ञप्ति निकाल्न हतारो भएको अभिव्यक्ति दिनुभएको छ । नेपाल टेलिभिजनबाट प्रशासरण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा उहाँले भन्नुभएको छ–‘त्यो अलिकति ‘स्लिप’ (चिप्लिएको) भएको हो, म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन, दिनुपर्ने जरुरी विषय पनि थिएन। जुन भाषा प्रयुक्त भयो त्यो अलि उपयुक्त भाषा पनि भएन, कोही एउटा साथीले एउटा विज्ञप्ति दिनुभयो, र त्यसकै पछाडि देश देशका बीचका सम्बन्धहरू अडेको हुँदैन ।’

चितवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूले जारी गरेको वक्तव्य एक राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । आफूले जारी गरेकै स्प्रिटमा परराष्ट्र मन्त्रालयबाट पनि वक्तव्य आएको उल्लेख गर्दै प्रचण्डले एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रकाशित गरेको विज्ञप्तिमा भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस मधुरोलाई समर्थन गरिएको छ । संयुक्त राज्य अमेरिका र केही युरोपियन मुलुकहरुले भेनेजुयलामाथि गरेको राजनीतिक हस्तक्षेपको विरोध जनाइएको थियो ।

नेकपाको विज्ञप्तिपछि प्रमु्ख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेसले देशमा आउन सक्ने संकटको परवाह नगरी जे मन लाग्यो त्यही प्रकाशन गरिएको भन्दै सदनमा चर्को विरोध गरिएको छ । विज्ञप्तिप्रति अमेरिकाले व्यक्त गरेको असन्तुष्टिसँगै प्रधानमन्त्री ओलीले बोली फेरेपछि नेकपाभित्र नयाँ विवादको जन्म भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार