https://www.saurabhgroup.com/

भारतसंगको अविस्वास हटाउँछु, नव नियुक्त राजदुत आचार्य

काठमाडौं, २६  माघ – भारतका लागि नवनियुक्त राजदूत नीलाम्बर आचार्यले विगतलाई कोट्याउनभन्दा भविष्यको योजना बनाउनु दुवै देशको हितमा हुने बताएका छन्। उनले नेपाल र भारतबीच विश्वासको वातावरण बनाउन आफूले पहल गर्ने पनि बताए।

‘सरकारको नीतिलाई कार्यान्वयन र अगामी दिनमा कुनै अप्ठेरा आउन नदिने प्रण गर्दै त्यसतर्फ जाने तयारीमा छु,’ अगामी बिहीबार नयाँ दिल्ली जाने तयारीमा रहेका आचार्यले अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा भने, ‘विगतबाट सिक्दै भविष्य तय गर्ने हो। विगतलाई कोट्याएर बस्ने होइन।’

राजनीतिक तहमा विश्वासको वातावरण भए सम्बन्ध आफैं अघि बढ्ने उनको बुझाइ छ। ‘सबैले आफ्नो मुलुकको हित हेर्ने हो। त्यही विषय बुझेर हामी अघि बढ्नुपर्छ,’ राजदूत आचार्यले भने, ‘हाम्रो परराष्ट्र नीति, सरकारको निर्देशन र प्राथमिकताअनुसार राजदूतहरूले आफ्नो काम गर्ने हो। त्यसमा सहमत भएर नै जिम्मेवारीमा जाँदैछु।’ भारतसँग सम्बन्ध सुमधुर राखेर नै नेपालले आफूलाई अघि बढाउनुपर्ने उनको तर्क छ।

भारतसँगको सम्बन्ध ठीक बाटोमा अघि बढेको समयमा राजदूत भएर जान लागेको र यसलाई थप सबल बनाउन आफू सक्रिय रहने उनले बताए। ‘समयमा पूरा नभएका परियोजनाहरू सम्पन्न गराउँदै देखा परेको अविश्वास र समस्या समाधानमा पहल गर्ने मेरो योजना छ,’ उनले स्पष्ट पारे, ‘राजनीति र सरकारी स्तरमा सम्बन्धलाई थप अन्तरक्रियात्मक बनाउने सोच पनि छ।’ १७ वर्षपछि उच्चस्तरीय भ्रमण बाक्लिएको र त्यसलाई निरन्तरता दिए राजनीतिक तहमा विश्वास बढ्ने उनले बताए।

भारतसँगको हाम्रो व्यापार घाटा कहालीलाग्दो रहेकाले त्यसलाई घटाउन नेपालमा भारतीयहरूसँगको संयुक्त लगानी र आयोजना बढाउनुपर्ने उनको भनाइ छ। उनी अहिले यस्तै विषयमा दुईपक्षीय छलफल गरिरहेका छन्। आफूले सबै क्षेत्रका व्यक्ति भेटिरहेको उनले बताए। ‘सबैको सुझाव र सल्लाहबमोजिम सरकारको परिधिभित्र रहेको काम गर्ने लक्ष्यसहित सम्भवतः आगामी बिहीबार त्यसतर्फ लाग्नेछु,’ उनले भने।

भारतमा नेपालको निर्यात बढाउन आफूले पहल गर्ने पनि उनले बताए। ‘सम्बन्ध दोहोरो हुनुपर्छ। नेपाल–भारत सम्बन्ध पनि यसबाट बाहिर जान सक्दैन,’ उनले भने, ‘हामीले अझै धेरै सहकार्यको बाटो तय गर्न बाँकी छ। दुवैले एकअर्कासँग गरेको बाचा भुल्नु हुँदैन।’

दुवैको जित हुने अवस्थामा सम्बन्ध दिगो बन्ने उनको जोड दियो। पछिल्लो समय भएका सम्झौता पूरा हुने क्रममा रहेकाले सम्बन्ध सुधार भएको संकेत देखिएको पनि उलने बताए

आफूलाई सरकारले पत्याएर गहन जिम्मेवारी दिएकोले परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम काम गर्ने उनले बताए। सडक संजाल विस्तारदेखि रेलमार्ग र जलमार्गमा समेत काम हुन थालेको बेला राजदूत बनेको सुनाउँदै उनले भने, ‘यस्ता सहकार्यलाई फत्ते गराउन आवश्यक छ। राजदूत एक्लै केही होइन। टिमको सहकार्य र सरकारको स्पष्ट निर्देशन हुनुपर्छ। दूतावास एक संस्था भएकोले नै राजदूत नहुँदा पनि ठूला भ्रमण भए। शिखर सम्मेलनहरू भए।’

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० का पूर्वसदस्य समेत रहेका आचार्यले आफूहरुले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे। ‘यस विषयमा नेपालतर्फबाट संयोजक रहनुभएका डा। भेषबहादुर थापा बोल्नुहुन्छ र के भइरहेको जानकारी पनि उहाँलाई नै छ,’ उनले भने। प्रतिवेदनको विषयमा थप बोल्न नसक्ने भन्दै धैर्य राख्न सुझाए। प्रबुद्ध समूहले दिएको सुझावलाई सरकारले अध्ययन गरेर अघि बढ्ने हो भन्दै उनले स्पष्ट पारे। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार