फेरियो प्रचण्डको बोली, तनावमा ओली ,सरकारको कार्यशैलीको खुलेरै आलोचना

काठमाडौैं, २७ माघ  – सरकारको काम प्रभावकारी नभएको भन्दै सत्तारुढ दलभित्रबाटै विरोध सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालन प्रभावकारी नभएको र पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि चुलिदै गएको छ ।

पार्टी एकता भएको नौ महिनासम्म प्रधानमन्त्री ओलीलाई साथ दिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीको खुलेरै आलोचना गर्नुभएको छ ।खासगरी भेनेजुएलाको विज्ञप्ती प्रकरणपछि अध्यक्षद्धय ओली र प्रचण्डबीच तनाब बढ्दै गएको देखिन्छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डले विज्ञप्ती निकाल्न हतारो गरेर चिप्लिएको भन्ने अभिव्यक्ति दिए पनि प्रचण्डले त्यसप्रति आफू अडिग रहेको भनाइ दोहो¥याएका छन् । एकतालाई टुंगोमा पु¥याउन गठित कार्यदलले काम गर्न नसकेर अनिर्णयको बन्दी भइरहेको बेला यी दुई अध्यक्षमा देखिएको विवादले एकता झन् जटिल र अन्यौल बन्दै गएको छ ।

दुई अध्यक्ष गम्भीरतापूर्वक लागेको भए एकताको गाँठो छिट्टै फुक्ने थियो, सचिवालयका एक सदस्यले भने,‘उहाँहरुकै स्वार्थका कारण कार्यकर्तामा निराश थपिएको छ ।’ नौ महिनासम्म पार्टीको सांगठानिक संरचनाले पूर्णता नपाउदा एकताले गति पक्रिन सकेको छैन, शीर्ष नेतृत्व नै मिल्नुपर्ने ठाउँमा अनावश्यक विवादमा अल्झिने गलत प्रवित्तिले थप अन्यौलता बढाएको छ, ती केन्द्रीय सदस्यले भने ।

केही समयअघि मात्र ओली सरकारको बचाउ गर्दै आउनुभएका प्रचण्डले नै सरकारको कडा विरोध गर्दै पुनः ठूलो युद्ध हुने चेतावनी दिएपछि नेकपाभित्र तरङ पैदा भएको छ । मिल्दै आएका यी दुईबीच देखिएको विवादले नेकपाभित्रै नयाँ प्रकारको अन्तरविरोध पेदा भएको छ । सचिवालयको बैठकपछि उहाँहरूबीच एकताबारे कुनै छलफल हुनसकेको छैन् ।

सचिवालय बैठकले पनि एकताको विधि तय गर्न सकेको छैन् । सरकार र पार्टी सञ्चालन एकलौटी रुपमा अगाडि बढाएको भन्दै आलोचित बन्दै आउनुभएका ओली थप अल्पमतमा पर्ने देखिएको छ ।

सचिवालयमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताले प्रचण्डलाई साथ दिने हो भने पार्टीमा ओलीलाई निर्णय गराउन निकै कठिनाई हुने सचिवालयका एक सदस्यले बताए । ती सदस्यले भने,‘सरकार र पार्टी सञ्चालन एकै व्यक्तिले गर्दा काम प्रभावकारी हुन सक्दैन, अब एक पद एक व्यक्तिको अवधारणाअनुसार अगाडि बढनुपर्छ ।’ – नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार