काठमाडौं – नेपाली कांग्रेसले वीरगञ्जमा बीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको छ । बीपी कोइरालाको नाममा उद्यान बनाउन १० विघा जग्गा दुई किस्ता गरी १० करोडमा खरिद गरिसकेको अवस्थामा बीपीको नाम हटाएर उद्यान बनाउन लागेकोमा कांग्रेसले आपत्ति जनाएको हो।
आइतबार केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले भने, ‘राजाको प्रत्यक्ष शासनकालका मन्त्रीले समेत बीपी कोइरालाको नामको उद्यान शिलन्यास गरिसकेको अवस्थामा अहिले प्रदेश सरकारले यो निर्णय गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा नभएर हो भन्ने कुरा मान्दैनौं ।
सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ पर्दछ भन्दै शर्माले भने, ‘यसमा केन्द्रीय सरकारले गम्भीरता राखोस्, प्रदेश सरकार पनि गम्भीर बनोस् बीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि बढोस्, अस्तित्व मेटाउने कार्य कांग्रेस सहेर बस्दैन।’
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताल सरकारले नामेट प्रयास असफल भएको बताउँदै उनले पछिल्लो प्रयास पनि सफल नहुने चेतावनी दिए।
वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको लागि शिलान्यास गरेका थिए ।