नेविसंघका अध्यक्ष नैनसिंह महरद्वारा पार्टी सभापति देउवासमक्ष राजीनामा

काठमाडौं, २८ माघ – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।  पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी  पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

महरले पार्टीको केन्द्रीय समितिमा नेविसंघबारे मतमतान्तर देखिएकाले आफूले अध्यक्षबाट राजीनामा दिएको बताए।  राजीना दिदैँ महरले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत भएर तदर्थ समिति गठन गर्न आग्रह समेत गरे । “तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ,” महरले सभापति देउवासँग भने, “दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।”

उनले महाधिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधान अनुसार कार्यकाल समाप्त भइसकेको र यसबारे केन्द्रीय समिति विभाजित भएकाले पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए।

कार्यसमितिको बैठकबाट यो कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्नेबारे पार्टी भित्रै विवाद भईरहेको समयमा अध्यक्ष महरले सोमबार राजीनामा दिएका हुन् ।

उनले आफूले स्ववियू निर्वाचन गर्ने अर्जुन दृष्टि राखेको भएपनि पार्टी भित्र कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रीय समितिमा नै मत मतान्तर रहेको विषयलाई ध्यान केन्द्रीत गर्दै आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

उनले पार्टी एक ढिक्का भएर सर्वसत्तावाद विरुद्ध लड्नु पर्ने समयमा नेविसंघको विवादमा पार्टी विभाजित हुने र यही विषयमा केन्द्रीत हुने काम नहोस् भन्नको लागि आफूले राजीनामा दिएको समेत आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा महरले नेपाल र भारतको सीमा बीरगञ्जको छपकैयामा सीमा मिचिएको विरोधमा दशगजा क्षेत्रमा नेविसंघले गरेको ठूलो प्रदर्शन, हरेक वर्ष नेविसंघको तर्फबाट संयुक्त राष्ट्रसंघ युथ एसेब्लीमा विधिवत सहभागिताको व्यवस्था, २० वर्ष पछि सोसलिष्ट इन्टरनेशनल अफ युथको उपाध्यक्षमा नेविसंघको विजयसँगै नेविसंघको ६ लाख ५० हजार जना सदस्यता वितरण गरिनु नै आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी रहेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार