गफ र टुक्काले देश चल्न सक्दैन, कांग्रेस सभापति देउवा

भक्तपुर, ३ फाल्गुण —  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले गफको भरमा देश चलाएको बताएका छन् । शुक्रबार कांग्रेस भक्तपुरले गरेको विरोध सभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले गफ र टुक्काले देश चल्न नसक्ने भन्दै यस्तो बताएका हुन् ।

देउवाले भने, ‘ओली सरकारले कुरा ठूला गफ बाहेक केही गर्न सकेको छैन, कहिले पानीजहाज ल्याउँछु भन्छन्, कहिले रेल ल्याउँछु भन्छन्। गफ हाँकेर रेल आउँछ ? ’ सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी काम नभएकोले सरकार असफल भइसकेको दाबी गर्दै उनले भने, ‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दुस्ख हुने थिएन।

ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन ।’ विकास निर्माणमा त केही गरेनन् वरु अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारे भन्दै देउवाले भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको आरोप लगाए।

सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्ने तयार रहेको भन्दै जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गर्ने, निर्मलाका हत्यारालाई पत्ता लगाउन नसक्ने, मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत गर्ने सरकारबाट अपेक्षा गर्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले दुई तिहाइको दम्बमा चलेको यो सरकार एक वर्षमा संघीयतालाई संस्थागत गर्नु पर्नेमा हानी हुने कार्य बाहेक अरु केही गर्न नसकेको बताए ।

यो सरकार संघीयता बिरोधि भएको भन्दै उनले भने, जनतालाई दुख दिने काम भएको छ, बिभिन्न संबैधानिक संस्थामा हस्तक्षेप भएको छ यसरी कसरी मुलुक चन्छ ? भष्ट्राचारलाई कानुनी कारवाहीमा ल्याउन नसकेको यो सरकार असक्षम भएको उनको भनाई थियो ।

त्यस्तै अर्का केन्द्रिय सदस्य एवं पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले कम्युनिष्ट पार्टीको वर्तमान सरकारमा जनता बलियो नभएर आफ्नो पार्टी र कार्यकर्ता मात्र बलियो भए पुग्छ भन्ने मान्यता स्थापित गर्न खोजेको बताए । आफ्नो कार्यकर्ताको गलत कामलाई समेत सकारात्मक भन्नु गलत मान्यताको नजिर वर्तमान सरकारले बसाल्दै लगेको उको आरोप थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार