मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ टेन्डरको तयारी

काठमाडौं, १० फागुन  – मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का गर्ने तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ ।

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताए। ‘बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्काको तयारी भईरहेको छ ।’, उनले भने, ‘हप्तादिन भित्र ठेक्का लगाउने तयारी गरेका छौं ।

मेलम्ची खानेपानी आयोजनाको भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वक्र्स र फिनिसिङ सहितका ७ वटा काम सम्पन्न हुन बाँकी रहेको आयोजनाले जनाएको छ । ९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

निर्माणस्थल छोडेर इटालिएन ठेकेदार कम्पनी सिएमसी भागेपछि मेलम्चीको काम २ महिनादेखि ठप्प अवस्थामा छ । कार्यक्षेत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनालाई पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि समितिले ठेक्का तोडेको घोषणा गरिसकेको छ । विश्वव्यापी रुपमा उक्त कम्पनी आर्थिक संकटमा परेको भन्दै निर्माणको काम छोडेर कम्पनी भागेको थियो ।

बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का आह्वान गरे काम गर्न नदिने भन्दै केही ब्यक्ति लागि परेका छन । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिको नाममा केही दिन अघि मात्रै राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरिएको छ ।

समितिले मेलम्चीमा कार्यरत नेपाली व्यवसायीको भुक्तानीको विषय नटुगिए सम्म कुनै पनि काम अघि नबढाउन चेतावनी दिएको छ । नेपाली व्यवसायीले मुख्य ठेकेदार सिएमसीसँग डेढ अर्ब भुक्तानी लिन बाँकी रहेको बताउदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार