पोखरामा पुगेर सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई यसो भनेपछि

काठमाडौं, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट) को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए ।

समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उनले विगतमा निरंकुशता विरुद्धमा लड्नुपर्ने अवस्था थियो भने अबको समय अराजकता विरुद्ध लड्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष घोषणा गरेकोप्रति स्वागत गर्दै सभामुख महराले गण्डकी प्रदेश पर्यटनको आकर्षक केन्द्र भएको उल्लेख गरे ।

आफू १० वर्षअघि सञ्चारमन्त्रीको नेतृत्व संहाल्दा सञ्चार क्षेत्रको विकासका सन्दर्भमा केही महत्वपूर्ण कामको थालनी गरेको स्मरण गर्दै उनले वर्तमान सरकार पनि यस क्षेत्रको विकासका लागि अघि बढेको धारणा राखे । सो अवसरमा सभामुख महराले विभिन्न व्यक्तित्वलाई सम्मान गरे भने गण्डकी प्रदेशको आन्तरिक कार्यविधि लोकार्पण पनि गरे ।

महासंघद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पाँच जनालाई सो अवसरमा पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासंघका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सप्तरीका शिवहरि भट्टराई सम्मान गरियो । पुरस्कारको राशि एक लाखको रहेको छ ।

त्यस्तै, गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र छ । कृष्णसेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौँका बलराम थापा पुरस्कृत भएका छन् । सो पुरस्कारको राशी पनि ५० हजारको रहेको छ ।

यस्तै उमासिँह स्मृति पत्रकारिता पुरस्कारबाट सिरहाका हिरालाल चौधरी र गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट अछामकी गीता कुँवरलाई पुरस्कृत गरिएको छ । दुवै पुरस्कारको राशि १५ हजार रहेको छ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार