जटिल मोडमा नेकपाको एकता, कार्यदल विघटन सचिवालय सकृय

काठमाडौं, ११ फागुन – नेपाल कम्युनिस्ट पार्टी ९(नेकपा)को सचिवालय बैठकले पार्टी एकताका लागि गठन गरिएको कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको छ । योसँगै अब पार्टी एकताको बाँकी काम सचिवालयले गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम सचिवालयले नै गर्ने निर्णय गर्दै कार्यदल भंगको निर्णय गरेको हो ।

‘सचिवालय बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिँदै म्याद नथप्ने निर्णय गरेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब बाँकी प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेस गर्ने निर्णय भएको छ ।’

सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका बहुमत सदस्यले म्याद थप गर्नुपर्ने माग गरेका थिए । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले म्याद थप नगर्ने अडान लिएपछि कार्यदल विघटन भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठमा पार्टी एकीकरण भएको हो । एकता घोषणा सभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रै एकता टुंगो लगाउने उद्घोष गरे पनि नौ महिना बित्दासमेत टुंगो लाग्न सकेको छैन ।

पछिल्लो समयमा बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहने नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।

दुई दलबीचको एकीकरणपछि हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा अध्यक्ष ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

बाँकी रहेका एकतासम्बन्धी सबै कामको टुंगो लगाउँदै सचिवालयले अब प्रस्ताव तयार गरेर स्थायी कमिटीमा पेस गर्ने सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा स्रोतका अनुसार अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालबीचमा भागबन्डा नमिलेपछि एकता अलमलमा परेको छ । कुन विभाग कसले लिने, जिल्ला नेतृत्व, जनवर्गीय संगठनको प्रमुखलगायतका विषयमा भागबन्डा नमिलेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे ।

पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भयो । केन्द्रीय सचिवालय गहन रूपमा छलफल गरे पनि टुंगो लाग्न समस्या हुने गरेको दाबी उनले गरे । एकता टुंगो लाग्न नसक्दा हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन हुनुका साथै पार्टी सञ्चालन तथा त्यसको प्रभाव सरकारमा समेत परिरहेको विश्लेषण उनले सुनाए ।

पार्टीको कार्यक्रम पनि शून्य रहेको छ । पहिलापहिला बैठक, छलफल, प्रशिक्षण, भेला, आमसभालगायतका कार्यक्रम हप्तैपिच्छे हुने गरेको बताउँदै उनले अहिले कार्यक्रम नै हुन छोडेको र पार्टी सरकारमा भएको अवस्थामा उसको राम्रा कामको प्रचार पनि हुन नसकेको बताए ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी पहिलाकै जस्तो चलायमान हुन नसकेको स्वीकार गरे । पार्टीका नेता कार्यकर्ता जिम्मेवारीविहीन भएकाले विभिन्न कार्यक्रम आयोजना गर्नमा अन्योल हुनुका साथै आफ्नै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको समेत जनतामा बुझाउन नसकिएको उनले बताए ।

‘अहिले पार्टी एकता टुंगो लगाउने चरणमा छौं, सबै नेता कार्यकर्तालाई ठोस जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाउनका लागि एकता गर्न सक्नुपर्छ,’ साहले भने, ‘पार्टी पहिलाकै जस्तै चलायमान बनाउँदै सबै समस्याको समाधान गर्दै सरकारका गतिविधि जनतालाई बुझाउन अभियान नै सञ्चालन गरिन्छ ।’-  राजधानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार