नयाँ शक्तिका प्रदेश सांसद, चार केन्द्रीय सदस्यसहित हजारौं कार्यकर्ता कांग्रेसमा प्रवेश

रसुवा, १३ फाल्गुण – रसुवामा नयाँ शक्ति नेपालका जिल्ला संयोजक, प्रदेश सांसद, चार जना केन्द्रीय सदस्य र चारहजार बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार कांग्रेसले एक समारोहकाबीच नयाँ शक्तिका जिल्ला संयोजक फुर्वु वाङ्दी तामाङ र प्रदेश सांसद प्रेम तामाङसहित चार जना केन्द्रीय सदस्य र चारहजार बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

नयाँ शक्तिका रसुवा र कांग्रेसबीच एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको दाबी गरेका छन् ।  देउवाले भोलि कुन मुद्दा लगाइदिन्छ भनेर प्रेस डराउन थालेको बताए । प्रेस र अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण हुन थालेको भन्दै उनले भने, ‘भोलि गएर बोल्न लेख्न पनि डराउने अवस्था हुन्छ ।’

‘पञ्चायत र राजाको शासनमा पनि यस्तै थियो । लेख्न बोल्न बन्देज गरिएको थियो’ अहिले त्यही रुपमा जान खोजिएको छ ।’ कुनै पनि बहानामा हुने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुन कुनै पनि आक्रमण सैह्य नहुने भन्दै देउवाले आवश्यक परे आन्दोलन गर्ने समेत बताएका छन् ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ शक्तिका कार्यकर्तालाई स्वागत गर्दै भने, ‘नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले  चित्त दुखाउदै सोधे भने आफुहरु कांग्रेसको काखमा गएको बताउनुस् । प्रचण्ड र बाबुरामलाई जंगलबाट काधमा बोकेर शहर पसाएको कांग्रेसकै काखमा आफुहरु गएकोमा अन्यथा नमान्न वहाँहरुलाई सुझाव दिनुहोस ।’

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, सहमहामन्त्री डा. प्रकाश सरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन कुमार थापालसहितका नेताहरू फुलमाला सहित प्रवेश गराएको रसुवा कांग्रेसले जनाएको छ ।

कांग्रेसमा प्रवेश गरेका प्रदेश सांसद तामाङले समृद्ध रसुवा अभियानलाई सार्थकता पार्नको लागि कांग्रेसमा आउनुको विकल्प नभएको भन्दै नयाँ शक्तिमा राजनीति भविष्य नदेखिएको र बाबुराम भट्टराईको गन्तव्य अन्यौलग्रस्त रहेकोले कांग्रेसमा आएको बताए । यो एकताले केन्द्रमा पनि ठूलै सन्देश दिने बताइन्छ । नयाँ शक्तिका केन्द्रीय संयोजक डा बाबुराम भट्टराई भने नयाँ सोचका साथ देश दौडाहामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार