खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना: पर्यटनमन्त्री  अधिकारीसहित ७ को मृत्यु

भोलि राष्ट्रिय शोकको घोषणा, सार्वजनिक विदा दिने निर्णय

काठमाडौं, १५ फागुन – पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।

उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए ।तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो । हेलिकोप्टरमा सवार सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिएकाे छ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने सरकारले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार