काठमाडौँ, १७ फागुन –ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे । राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।
दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।