काठमाण्डौ, १९ फाल्गुण – नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो । उनलाई चिकित्सकहरुले शनिबार राती ९ बजेर ३५ मिनेटमा मृत घोषित गरेको हो ।
आईसीयूमा उपचार गराइरहनुभएका अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास लगायतका समस्या देखिएकाे थियाे । वि.सं. १९९३ बैशाख २२ गते महोत्तरीमा जन्मिनुभएको थियो ।
तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो । चारपटक सांसद बन्नुभएका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हाल्नुभएको थियो ।
त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।