जनकपुरधाम – सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतका कार्यकर्ताले जनकपुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन् । राउतका कार्यकर्ताको यस्तो व्यवहारले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति गम्भीर चुनौती थपिएको छ ।
गठबन्धनका कार्यकर्ताले जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जा गरी स्वतन्त्र मधेसको नारा लगाएका थिए । स्वतन्त्र मधेसको नारा लगाउनु पृथकतावादी कार्य रहेको टिप्पणी विश्लेषकहरूले गरेका छन् । बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए ।
राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले विमानस्थललाई चारैतिरबाट घेरा हालेका थिए । रौतहट जान जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र मधेस चाहियो भनेर नाराबाजीसमेत गरेका थिए । राउतका कार्यकर्ताले स्वतन्त्र मधेस माग गर्दै सम्झौता मात्रै उल्लंघन गरेनन्, संविधानका विभिन्न धारामाथि समेत आक्रमण गरेका छन् ।
संविधानको धारा २७४ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने उल्लेख छ । राउतका कार्यकर्ताले संविधानको सो धाराविपरीत हुने गरी छुट्टै मधेस राज्यको माग गरेका छन् ।
राउतले दुई दिनअघि सरकारसँग गरेको सहमतिमा स्वतन्त्र मधेसको माग त्याग्ने र मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डता स्विकार्ने प्रतिबद्धता जनाएका थिए । तर, उनका कार्यकर्ताले सो सहमतिको धज्जी उडाएका हुन् ।
संविधानको धारा ४८ मा हरेक नागरिकले राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु प्रमुख कर्तव्य हुने उल्लेख छ । राउतका कार्यकर्ताले संविधानको सो प्रावधानविपरीत नागरिकको कर्तव्यसमेत भुलेको पाइएको छ । यसैगरी, संविधानको धारा ५ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नु राष्ट्रिय हितको आधारभूत विषय हुने उल्लेख छ । सीके राउतका कार्यकर्ताले संविधानको सो धाराविपरीत कार्य गर्दै राष्ट्रहितमाथि समेत प्रहार गरेको पाइएको छ ।
यता, राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका सञ्चारकर्मीलाई राउतका निजी सुरक्षा गार्डले दुव्र्यवहार गरेका छन् । राउतसँग सञ्चारकर्मीले कुरा गर्न खोजेपछि गठबन्धनका कार्यकर्ताले धकेलेका थिए ।
सहमतिविपरीत जनकपुरमा प्रचार सामग्री
राउतसँग सरकारले गरेको सहमतिको ६ नम्बर बुँदामा सहमति र संविधान प्रतिकूल हुने गरी राउत समूहले प्रचार सामग्रीहरू उत्पादन तथा वितरण गर्न नपाइने प्रावधान छ तर सो प्रावधानविपरीत राउतका कार्यकर्ताले बुलेट पु्रफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झन्डा बाँधेर सहमतिको ठाडो उल्लंघन गरेका छन् । राउतका कार्यकर्ता सहमतिविपरीतका प्रचार सामग्रीसहित मास्कले मुख छोपेको र आँखामा चस्मा लगाएर बिहानैदेखि जनकपुर विमानस्थल वरिपरि देखिएका थिए ।
आधा दर्जनको संख्यामा रहेका ती व्यक्ति विमानस्थलमा आउँदा पनि सुरक्षाकर्मीले केही गरेका थिएनन् । जब सीके राउत विमानस्थलमा अवतरण गरे अनि मात्र सबैले थाहा पाए, यस प्रकारको सुरक्षा गार्ड ‘स्वतन्त्र मधेस’ गठबन्धनका संयोजक सीके राउतका रहेछन् । सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षा गार्ड विमानस्थल पुगेका थिए ।
यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका आठ जना सुरक्षा गार्ड पहिलोपटक विमानस्थलमा देखिएका थिए । – राजधानी दैनिक