हावाहुरीलगायतका कारण एकै दिन २ सय १३ स्थानमा डढेलो

काठमाडौं, ३०फागुन – अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायतका कारण दिनहुँ सयौंको संख्यामा डढेलो लागिरहेको छ । बुधबार मुलुकभरका २ सय १३ स्थानमा डढेलो लागेको थियो ।

नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको बुधबार नै भएको वन डढेलो व्यवस्थापन च्याप्टरले जनाएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार बुधबार यति धेरै स्थानमा डढेलो लागेको तथ्यांक सार्वजनिक भएको हो । चुरे, तराई तथा मध्यपहाडी जिल्लासँगै मुलुकको पूर्वी क्षेत्रमा बुधबार डढेलो लागेको पाइएको हो । धेरै जिल्लाका वनमा लागिरहेको डढेलो रोकिन सकेको छैन, रोक्न उचित पहल हुन पनि सकेको छैन ।

बुधबारको तथ्यांक हेर्ने हो भने अर्घखाँचीका दुई, बाराका ५, बर्दियाका ४, भोजपुरका १३, चितवनका १७ र दाङको एक स्थानमा डढेलो लागेको थियो । यस्तै, धादिङका ५, धनकुटाका ७, धनुषाका ९ र दोलखाका ८ स्थानमा डढेलो लागेको थियो । गोरखाका ४, हुम्ला, इलाम, जाजरकोट, झापा, कपिलवस्तु र काठमाडौंको एक–एक स्थानमा वन डढेलो लागेको थियो । बुधबार नै काभ्रेका ४, खोटाङका ५, ललितपुरका ३, लम्जुङका ८, महोत्तरीका ३, मकवानपुरका ७ र मोरङका ३ स्थानमा ढडेलो लागेको थियो ।

यस्तै, बुधबारै म्याग्दीको एक, नवलपरासीका २, नुवाकोटका २, ओखलढुंगाका ५, पाँचथरको एक र पर्साको ७ स्थानमा वन डढेलो लागेको थियो । बुधबारै रामेछापको एक, रसुवाको एक, रौतहटका २, संखुवासभाको एक, सप्तरीका २५, सर्लाहीका ६, सिन्धुलीका ८, सिन्धुपाल्चोकका ९, सोलुखुम्बुका ४, सुनसरीका ३, स्याङ्जाका ३, तनहुँका ३, ताप्लेजुङका ७, तेह्रथुमका ४ र उदयपुरका ४ स्थानमा वन डढेलो लागेको पाइएको छ ।

तथ्यांकअनुसार १२ वैशाख २०६६ मा एकै दिन ३ सय ५८ स्थानमा डढेलो लागेको थियो । ९ वर्षयताको तथ्यांक हेर्दा एकै दिन लागेको डढेलोमा बुधबारको डढेलो अहिलेसम्मकै दोस्रो हो । १३ वैशाख २०६५ मा १ सय ५५, १३ वैशाख २०६७ मा ८४ र ९ वैशाख २०६८ मा १ सय ५७ स्थानमा डढेलो लागेको थियो ।

राष्ट्रिय र सामुदायिक वनमा डढेलोले विकराल रूप लिए पनि नेपालमा डढेलो नियन्त्रण गर्ने प्रविधि विकास भएको छैन । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सचेतना कार्यक्रम भए पनि डढेलो नियन्त्रणको उपाय नबनेको बताइन् । पाठकले भनिन्, ‘यसबारे बृहत् सचेतना अभियानका साथै जनस्तरमा क्षमता अभिवृद्धिको खाँचो छ ।’ केही वर्षदेखि डढेलो विकराल समस्या बन्दै गएपछि वन तथा वातावरण मन्त्रालयले ल्याएका कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन ।

नेपाल वन डढेलो व्यवस्थापन च्याप्टरले नासाको तथ्यांकलाई आधार मानी मुलुकभर डढेलोको घटना बढी भएको जनाएको छ । उसले गएको पुस र माघदेखि नै वन डढेलोको अनुगमन गरिरहेको छ । त्यसअनुसार गएको १ पुसदेखि बुधबारसम्मको अवधिमा नेपालमा मात्र ५ सयभन्दा बढी वन डढेलोका घटना भए । औसतमा प्रति २४ घण्टामा करिब ४७ ठाउँमा डढेलो लागेको देखिन्छ । हरेक वर्ष चैत्रदेखि जेठसम्म नेपालको वनजंगल डढेलोको चपेटामा पर्ने गरेको छ । यसैबीच सरकारले १ देखि ७ चैतको अवधिलाई डढेलो सप्ताह घोषणा गरेको छ । यसबीच डढेलो व्यवस्थापनको विषयमा जनचेतना अभिवृद्धिका लागि सरोकारवालासँग अन्तक्र्रिया, समूह स्तरमा डढेलो सचेतना गोष्ठी तथा तालिमहरू र कर्मचारी तहमा समेत डढेलो व्यवस्थापनसम्बन्धी कार्यक्रम आयोजना गरियो ।

वन डढेलो लाग्न आगो, इन्धन र हावाको भूमिका महŒवपूर्ण हुने डढेलोको विषयमा अध्ययन गरिरहेका विज्ञ सुन्दर शर्मा बताउँछन् । ‘हावामा अक्सिजन २१ प्रतिशत, नाइट्रोजन ७८ र अरू ग्याँसहरू १ प्रतिशत जति हुन्छन् । आगो लाग्नलाई अक्सिजन आवश्यक पर्छ,’ उनले भने, ‘यी तीन चीज भएपछि जहाँ पनि जहिले पनि आगो लाग्छ । वनमा लागे वन डढेलो र बस्तीमा लागे आगलागी ।’ उनका अनुसार मानिसको हेलचेक््रयाइँले २२ प्रतिशत डढेलो लागेको छ भने २० प्रतिशत आकस्मिक डढेलो लागेको पाइएको छ । नेपालमा लाग्ने वन डढेलोका ८० प्रतिशत कारण मानवीय नै भएको उनको तर्क छ ।

डढेलो नै वन वनाशको प्रमुख कारक बनेर अगाडि आएको छ । ग्रामीण बस्तीका मानिसले वनमा घाँसको नयाँ पालुवा पलाउँछ भनेर लगाएको आगो अनियन्त्रित भएर सारा जंगलमा फैलिन गई लागेको डढेलो नै वन र जैविक विविधताको शत्रु बन्न पुगेको विज्ञहरू बताउँछन् । पछिल्लो समयमा जलवायु परिवर्तन वन डढेलोको उत्प्रेरक बनेर आएको छ । नेपालमा औसतमा शून्य दशमलव शून्य ६ डिग्री सेल्सियसको दरले पृथ्वीको सतहको तापक्रम बढ्दै गएको छ । यसले गर्दा आद्र्रता र वर्षाको कमी हुन गएको छ । पानीका मुहान सुकेका छन् । सतह बढी तातेका कारण प्रज्वलनशील वस्तुको प्रचुरता बढ्न गएको छ ।

त्यस्तै, वन डढेलो व्यवस्थापनका लागि हरेक खालको वन स्रोत व्यवस्थापन योजनामा डढेलो व्यवस्थापनसम्बन्धी प्रावधान समावेश गर्ने, स्थानीयदेखि केन्द्रसम्म प्रभावकारी समन्वय कायम गर्ने, वन क्षेत्रका संरचनामा दक्ष जनशक्ति व्यवस्था गर्दै जाने, डढेलो हुने निश्चित अवधिका लागि डढेलो संकट अवधि घोषणा गरी राज्यका सबै अंगलाई तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने व्यवस्था, डढेलो प्रभावित क्षेत्रहरूमा जनसहभागिता परिचालन गरी प्राकृतिक पुनरुत्पादन प्रवर्धन तथा वृक्षरोपण गरी सोको संरक्षण गर्ने रणनीतिमा उल्लेख छ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार