नेपालकाे पहाडी तथा हिमाली क्षेत्रमा आज हर्षोल्लासका होली मनाईँदै

काठमाडौं, ६ चैत – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आज राजधानी काठमाडौं उपत्यकासहित देशका बिभिन्न क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइँदै छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ। नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ।

जबरर्जस्ती रङ दल्न नपाइने

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ र लोला हान्ने क्रम कम हुँदै गएको छ ।

यसलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागु गरेको छ । बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधिविरुद्ध विशेष सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसरले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार