https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

तराईमा हर्षोल्लासकासाथ होली मनाउँदै, जनकपुरमा भोली- तराईमा २ दिन बिदा

काठमाडौं, ७ चैत्र  – तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व  पहाडी तथा हिमाली  भूभागमा होलिका दहनअघि नै फागु (होली) मनाउने चलन भए पनि तराईमा भने पूर्णिमाको रातको अन्तिम प्रहरमा होलिका दहन गरेपछि भोलिपल्ट मनाउने परम्परा छ ।

होलिका दहनको दिन राति गाउँ टोलका मानिसहरु आ–आफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर जम्मा हुने गर्छन् । परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई होलिका दहन गरिन्छ। होलिका दहन भइसकेपछि मानिसहरू होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन्।

तराई मधेशमा होलिका दहन नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ। यो पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिइन्छ।

जनकपुरमा भने शुक्रबार होली मनाउने भएको छ। १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । सोही अनुसार यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदैछ । तराईका जिल्लामा बिहीबार केन्द्र सरकारले सार्वजनिक बिदा दिइएको छ । तर प्रदेश २ सरकारले भने शुक्रबार पनि होलीको बिदा दिएको छ । अन्य तराई परेका प्रदेशले भने बिहीबारमात्र बिदा दिएका छन् ।

विभिन्न परम्पराअनुसार जनकपुरधाममा शुक्रबार मात्र होली मनाइँदैछ । प्रदेश सरकारको मुख्यालय नै जनकपुरमा रहेकाले प्रदेश २ सरकारले शुक्रबार पनि बिदा दिएको हो ।

माध्यमिकी परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा समापन भएको छ। बिहीबार अन्तरगृह परिक्रम सकिएपछि शुक्रबार होली मनाइने जानकी मन्दिरका सहमहन्थ रामरोशनदास वैष्णवले जानकारी दिए।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार