मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

काठमाडौं, १८ चैत्र  –  मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण कार्यक्रम मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन्। मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति दिनुपर्छ।

खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मन्त्रीको कोस्टारिका भ्रमण रद्द भएको स्वीकार गरे। उनले भने, ‘मन्त्रीज्यूको भ्रमण रद्द भएको छ। उहाँको भ्रमण रद्द भएपछि उहाँसँगै जाने अन्य व्यक्तिको भ्रमण पनि रद्द भयो।’ मन्त्रीको विदेश भ्रमण कार्यक्रम किन रद्द भयो भन्नेबारेमा मन्त्रालयका उच्च कर्मचारी बोल्न चाहँदैनन्। ‘भ्रमण किन रद्द भयो, मलाई थाहा छैन’, सुवेदीले भने। स्रोतका अनुसार सामान्यतया बहालवाला मन्त्रीको विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद्को बैठकले अस्वीकार गर्दैन। अनावश्यक विदेश भ्रमणबाट राज्यको करोडौंको व्ययभार बढेको समाचार आउन थालेपछि सरकारले विदेश भ्रमणमा कडाइ गर्न थालेको छ।

सरकारले केही महिनाअघि सार्वजनिक खर्च मितव्ययिता निर्देशिकासमेत समेत ल्याएको थियो। सो निर्देशिकामा मन्त्रीहरू विदेश भ्रमण जानै पर्ने बाध्यात्मक स्थितिमा बाहेक विदेश भ्रमण गर्न नपाइने व्यवस्था छ। तर यस्तो व्यवस्थालाई उल्लंघन गर्दै निर्देशिकापछि पनि मन्त्रीहरूको अनावश्यक विदेश भ्रमण कार्यक्रम जारी रहेको छ। पछिल्लो तीन महिनामा मात्र मन्त्रीको विदेश भ्रमणमा करिब २ करोड रूपैयाँ व्ययभार थपिएको थियो। मन्त्रीको अनावश्यक भ्रमणमा कडाइ गर्न मन्त्रिपरिषद्को बैठकबाट मगरको विदेश भ्रमण कार्यक्रम रद्द गरिएको स्रोतले बतायो।- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार