काठमाडौं, २५ चैत – हिन्दु राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अध्यक्ष कमल थापाले बोल्दा बोल्दै प्रहरी र कार्यकर्ताबीच पुतलीसडकमा झडम भएको हाे । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा अध्यक्ष कमल थापासहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङ पनि गिरफ्तारीमा परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेको छ। देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम भइरहेका बेला सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच केहीबेर तनाव उत्पन्न भएको थियो।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शान्तिपूर्ण धर्ना गर्दा प्रहरीले अध्यक्ष थापालाई १० मिनेट नियन्त्रणमा लिएको र प्रदर्शनकारीले अध्यक्षलाई प्रहरी नियन्त्रणबाट छुटाएको बताए।
‘शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गर्यो। अध्यक्षलाई नियन्त्रणमा लियो,’ उनले सेतोपाटीसँग भने, ‘प्रहरी र प्रदर्शनकारीबीच खोसाखोस गरेर अध्यक्षलाई प्रहरीबाट नियन्त्रणमुक्त गर्यौं।’
उनका अनुसार झडपमा परी सय जनाभन्दा बढी कार्यकर्ता घाइते भएका र उपचारका लागि बागबजारस्थित मोडल अस्पतालामा लगिएको बताए।
राप्रपाले सरकारसमक्ष पेश गरेको २२ बुँदे कार्यान्वयन गर्न दबाब दिन सोमबार दिउँसो धर्ना र प्रदर्शन कार्यक्रम गरेको थियो। राप्रपाले राजासहित लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन, हिन्दुराष्ट्रको माग गर्दै आएको छ।