यसरी पो हुँदाे रहेछ, लुट्न सके लुट ! महासचिव पौडेलसहित ठूलाबडाकै संलग्नता

काठमाडौं, २७ चैत – मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ।

व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ। सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा छ। मालपोत कार्यालय डिल्लीबजारका अनुसार ललितानिवासको जग्गा महासचिव पौडेलले छोरा नवीनका नाममा किनेका हुन्। पौडेल तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाका महासचिव हुन्। उनी सांसद पनि हुन्।

पौडेलको स्वामित्वमा रहेको ८ आनासहित ललितानिवासको १ सय १३ रोपनी ३ आना जग्गा सरकारले रोक्का राखिसकेको छ। सरकारी सम्पत्ति ललितानिवासको जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायले अध्ययन गरिरहेका छन्।

ललितानिवासले चर्चेको जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतका अनुसार नेकपा महासचिव पौडेलले भाटभटेनी सुपरमार्केटका सञ्चालक एवं व्यापारी मीनबहादुर गुरुङ र भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमार्फत ८ आना जग्गा किनेका हुन्।

केपी शर्मा ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारमा ८ आना जग्गा रहेको उल्लेख छ।

२०७२ मंसिर १६ गते सार्वजनिक पौडेलको सम्पत्ति विवरणमा ललितपुरको कार्यविनायक–२ मा ९ आना, १ पैसा २ दाम क्षेत्रफलमा घर र कामनापा–४ बालुवाटारमा ८ आना जग्गा रहेको देखाइएको छ। दुवै ठाउँको घरजग्गा पौडेलका छोरा नवीनको नाममा रहेको देखाइएको छ।

२०६० सालमा ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणाबाट गुरुङ, ढकाल र सुवेदीले ६३ रोपनी जग्गा किनेका थिए। त्यसमा हदबन्दी लाग्ने देखिएपछि गुरुङसहितले शक्ति केन्द्रदेखि अन्य व्यक्तिसम्मलाई कित्ताकाट गरेर जग्गा बेचेका थिए। ललितानिवासको जग्गा बेचेर गुरुङ, सुवेदी र ढकालले संयुक्तरुपमा स्वामित्व हुनेगरी कान्तिपथस्थित ब्रिटिश काउन्सिलको जग्गासमेत खरिद गरेको पाइएको छ।

यसैगरी निर्वाचन आयुक्त सुधीरकुमार शाहको पनि सरकारी ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्नता पाइएको छ। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ सालमा ललितानिवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा ल्याएका थिए।

उक्त जग्गा २०६१÷०६२ ताका काभ्रेको प्रमुख जिल्ला अधिकारी हँुदा शाहले भूमाफिया सुवेदी र ढकाललाई बेचेका थिए। त्रिताल समितिको प्रतिवेदनमा पनि शाहमाथि कारबाही गर्नुपर्ने उल्लेख छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त दीपबहादुर बस्न्यातले पनि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललितानिवासको जग्गा व्यक्तिका नाममा दिनेगरी निर्णय गराएको पाइएको छ।

‘बालुवाटारमा अवस्थित विशिष्ट व्यक्तिहरुको सरकारीनिवास भवन परिसर क्षेत्रको जग्गा विस्तारसम्बन्धी अनुसूची संसोधन’ शीर्षकको परिपत्र भूमिसुधार मन्त्रालयलाई पठाउँदै सचिव बस्न्यातले २०६७ असार ३० गतेको निर्णयमा भनेका छन्, ‘मालपोत र नापी कार्यालयसँग समन्वय गरी नापीको निर्देशित नक्साबमोजिम नक्साभित्र बालुवाटार परिसर विस्तार गर्ने र बाँकी जग्गाधनी र मोहीको विवरण छुट्याउने गरी प्रस्ताव पेस गरिएको छ।’

बस्न्यातको उक्त परिपत्रपछि माफियाले जग्गा कित्ताकाट गरी विभिन्न मानिसलाई बेचेका थिए। भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालयको उक्त निर्णयमा तत्कालीन मुख्यसचिव माधव घिमिरेले प्रमाणित गर्दै मन्त्रीपरिषद्मा पेस गरेका थिए।

तत्कालीन भूमिसुधार सचिव छविराज पन्त पनि यो निर्णय प्रक्रियामा मुछिएका छन्। चुनावी मन्त्रिपरिषद्का गृह र परराष्ट्रमन्त्री रहेका घिमिरेको सवारी दुर्घटनामा परी निधन भइसकेको छ। भूमाफिया ढकाल घिमिरेका आफन्तसमेत रहेको बुझिएको छ।

ढकालले तत्कालीन मुख्यसचिव घिमिरेमार्फत ललितानिवासको जगा विषयमा विवादास्पद निर्णय गराएको स्रोत बताउँछ। तर गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललितानिवासको जग्गा व्यक्तिका नाममा गराउनेगरी भएका सबै निर्णय खारेज गरी पुनः सरकारको नाममा ल्याउने प्रक्रिया थाल्ने निर्णय गरेको छ।

को–को तानिए छानबिन घेरामा
विष्णुप्रसाद पौडेल, महासचिव, नेकपा

सुधीरकुमार शाह, आयुक्त, निर्वाचन आयोग

दीपबहादुर बस्न्यात, पूर्वप्रमुख आयुक्त, अख्तियार

माधव घिमिरे, पूर्वमूख्यसचिव एवं पूर्वमन्त्री

छविराज पन्त÷पूर्वभूमिसुधार सचिव÷पूर्वमन्त्री

मीनबहादुर गुरुङ, सञ्चालक, भाटभटेनी सुपरमार्केट

रामकुमार सुवेदी, भूमाफिया, वकिल

डा. शोभाकान्त ढकाल, भूमाफिया

रुक्मशमशेर राणा तथा उनका आफन्त

प्रतिआना ७ लाखमा विक्री
सरकारी सम्पत्ति ललितानिवासले चर्चेको जग्गा व्यापारी र भूमाफियाले प्रतिआना ७ लाखमा किनबेच गरेको तथ्य खुलेको छ। २०६० सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट जग्गा खरिद गरेर व्यापारी गुरुङ तथा भूमाफियाद्वय ढकाल र सुवेदीमार्फत विभिन्न व्यक्तिलाई प्रतिआना ७ लाख रुपैयाँका दरले बेचेको तथ्य भेटिएको हो। गुरुङमार्फत जग्गा किनेका गोपाल खनालले सरकारी जग्गा हो भन्ने थाहा नभएर खरिद गरेको बताए।

‘हामी चारजनाले ६० आना जग्गा प्रतिआना ७ लाखका दरले ४ करोड २० लाख रुपैयाँमा गुरुङमार्फत किनेका हौं,’ नागरिकको सम्पर्कमा आएका खनालले भने, ‘पछि मात्रै त्यो त सरकारी जगगा भएको थाहा पायौं।’ आफूहरुले जोबाट किनेको हो, अब उसैबाट अहिलेको मूल्यअनुसार जग्गाको रकम पाउनुपर्ने दाबी पनि उनले गरे। ललितानिवासकै जग्गा गुरुङबाट श्रवण गोयल, केडिया समूहलगायतले खरिद गरेको भेटिएको छ। – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार