काठमाडौं – नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो । जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो ।
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।
बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।
उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ ।
यसले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नुका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।