यस्तो छ नेकपा एकताको भागबन्डा, ओली पक्ष २८, नेपाल पक्ष १६, दाहाल पक्ष २७, थापा पक्ष ५ र श्रेष्ठ पक्ष १

काठमाडौं, १० वैशाख – सत्तारूढ दल नेकपाले भागबन्डामा जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ। तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। नेकपाले पार्टी एकताको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको हो।

केन्द्रीय विभाग, आयोग, पोलिटब्युरो गठन र जनवर्गीय संगठनको एकता भने टुंगो लागेको छैन। पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्वमाओवादीले सचिव र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्वएमाले नेताले सचिवको जिम्मेवारी पाएका छन्।

जिल्ला अध्यक्षमा केपी ओली पक्षका २८ र माधव नेपाल पक्षका १६ जना छन्। यस्तै पुष्पकमल दाहाल पक्षका २७, रामबहादुर थापा पक्षका ५ र नारायणकाजी श्रेष्ठ पक्षका एकजना जिल्ला अध्यक्ष भएका छन्।

जिल्ला सचिवमा ओली पक्षका १४, नेपाल पक्षका १९, दाहाल पक्षका ३६ र थापा पक्षका ८ जना नेताले जिम्मेवारी पाएका छन्। ७७ जिल्लामध्ये तीन महिलाले मात्र जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्षको जिम्मेवारी पाउनेमा मकवानपुरमा मनु सिग्देल, काभ्रेमा रुकु चौलागाई र लामजुङमा मधुमाया अधिकारी छन्। अधिकारी र चौलागाई पूर्वमाओवादीबाट र सिग्देल पूर्वएमालेबाट अध्यक्षमा परेका हुन्। सचिव जिम्मेवारी पाउने एकमात्र महिला इलामकी सोममाया राई छिन्। उनी पूर्वमाओवादीबाट सचिव भएकी हुन्।

केन्द्रीय समितिमा रहेका ८ नेताले जिल्ला सचिवको जिम्मेवारी पाएका छन्। जिल्ला सचिवको जिम्मेवारी पाउने केन्द्रीय सदस्यमा युवराज भट्टराई ९रौतहट०, गोपी अछामी ९मोरङ०, श्रवण यादव ९धनुषा०, डाचाराज वाग्ले ९सर्लाही०, दावा तामाङ ९सिन्धुपाल्चोक०, हिमाल शर्मा ९काठमाडौं०, शालिकराम जम्मकटेल ९धादिङ० र दधिराम न्यौपाने ९रूपन्देही० छन्। तत्कालीन माओवादीमा रहेकी यी आठैजना नेकपाका केन्द्रीय सदस्य हुन्।

इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, सर्लाही, रौतहट, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, बागलुङ, डोल्पा, अछाम, दाङ, सुर्खेत र कैलालीको अध्यक्ष वरिष्ठ नेता नेपाल पक्षले पाएको छ।

थापा पक्षले भने जाजरकोट, कालिकोट, बाँके, काभ्रे र रामेछापको नेतृत्व पाएको छ। श्रेष्ठ पक्षले महोत्तरीको मात्र नेतृत्व पाएको छ। अन्य जिल्लामा भने अध्यक्षद्वय ओली र दाहाल पक्षका नेताहरूले जिम्मेवारी पाएका छन्।

प्रदेश १ का १४ मध्ये ९ जिल्लामा तत्कालीन एमाले र ५ जिल्लामा माओवादीले नेतृत्व पाएको छ। पाँचथर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र सोलखुम्बुाको अध्यक्ष पूर्वएमालेले पाएको छ। ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुंगा र उदयपुरको नेतृत्व पूर्वमाओवादीको भागमा परेको छ।

प्रदेश २ का ८ मध्ये तत्कालीन एमाले र माओवादीले ४–४ जिल्लाको अध्यक्ष लिएका छन्। सप्तरी, सिरहा, महोत्तरी र बारा तत्कालीन माओवादीले र धनुषा, सर्लाही, रौतहट र पर्सा तत्कालीन एमालेले पाएको छ।

प्रदेश ३ का १३ जिल्लामध्ये ८ जिल्लामा तत्कालीन एमाले र ५ जिल्लामा माओवादीले अध्यक्ष पाएको छ। मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर र काठमाडौंको नेतृत्व एमाले र चितवन, नुवाकोट, रामेछाप, सिन्धुली र काभ्रेको नेतृत्व माओवादीको भागमा परेको छ।

गण्डकी प्रदेशका ११ मध्ये ७ जिल्ला तत्कालीन एमाले र ४ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएको छ। कास्की, तनहुँ, मुस्ताङ, मनाङ, बागलुङ, पर्वत र नवलपरासी पूर्वको नेतृत्व तत्कालीन एमाले र लमजुङ, गोरखा, म्याग्दी र स्याङ्जाको नेतृत्व माओवादीले पाएको छ।

प्रदेश ५ का १२ मध्ये तत्कालीन एमालेले ७ जिल्ला र माओवादीले ५ जिल्लाको नेतृत्व लिएको छ। प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङको नेतृत्व एमाले र रोल्पा, रुकुम पूर्वी, नवलपरासी पश्चिम, बाँके र बर्दियाको नेतृत्व माओवादीको भागमा परेको छ।

कर्णाली प्रदेशका १० मध्ये तत्कालीन एमालेले ४ र माओवादीले ६ जिल्लाको नेतृत्व पाएको छ। सुर्खेत, दैलेख, सल्यान र डोल्पाको नेतृत्व एमाले र जाजरकोट, रुकुम पश्चिम, जुम्ला, कालिकोट, हुम्ला र मुगुको नेतृत्व माओवादी भागमा परेको छ। सुदूरपश्चिम प्रदेशका ९ मध्ये तत्कालीन एमालेले ५ र माओवादीले ४ जिल्लाको नेतृत्व पाएको छ। दार्चुला, डडेलधुरा, बझाङ र कञ्चनपुरको नेतृत्व पूर्वमाओवादीले र बैतडी, बाजुरा, अछाम, डोटी र कैलालीको नेतृत्व एमालेले पाएको छ। – अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार