कांग्रेस पूर्व कोषाध्यक्ष ताम्राकारको निधन, जागरण अभियान बैशाख २५ गतेदेखि

काठमाडौं – नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भएपछि आईसीयुमा भर्ना गरिएको थियो ।

करिब दुई हप्ता अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। निमोनिया समेत भएका उनको  स्थिती अझ गंभिर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

नेपाली काँग्रेसको बुधबारदेखि हुने भनिएको राष्ट्रिय जागरण अभियान बैशाख २५ गतेसम्मका लागि सरेको छ । पार्टीका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको मंगलबार दिउँसो  निधन भएपछि जागरण अभियान पछि धकेलिएको हो ।

मंगलबार दिउँसो काठमाडौंमा उपलब्ध रहेका काँग्रेस केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले शाेक विज्ञप्ति जारी गर्दै, बैशाख ११ देखि जेठ ११ गतेसम्म जागरण अभियानलाइ बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म गर्ने निर्णय गरेकाे छ  ।

पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुदा तीन दिन पार्टी कार्यलय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट सुरु हुने कार्यक्रम प्रभावित हुने भएको हो ।

ताम्राकार बिस. २०४८ र ५६मा रुपन्देही-२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।

ताम्राकारको निधनपछि बुधबारको कार्यक्रम
ताम्राकारको निधनमा शोक व्यक्त गर्दै पार्टीले बुधबार बिहान पार्टी मुख्यालय बीपीनगर सानेपामा ताम्राकारको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने छ ।

बिहान १०ः३० बजे ताम्राकारको पार्थिव शरीरलाई पार्टी मुख्यालयमा राखिने भएको हो । त्यहाँ  सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो १ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको जनाइएको छ।

बुधबार काँग्रेसका कुनै पनि कार्यालयहरु खुल्ने छैनन् । त्यसैगरी बुधबारदेखि तीन दिन पार्टीको झण्डा झुकाइने छ। १३ औं दिनको दिन बैशाख २२ गते सबै जिल्लामा शोकसभा गर्ने कार्यक्रम बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार