भक्तपुर, १५ बैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७६ सालको कक्षा १२ परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानकारी दिएको छ । कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख १५ गतेबाट सुरु भएर बैशाख २६ गते समाप्त हुनेछ ।
त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गते समाप्त हुने बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणी पौडेलले जानकारी दिए ।
परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी हुने छन् । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४लाख, ९३ हजार ५ सय ४९) परीक्षार्थी सहभागी हुने अध्यक्ष प्रा. डा. पौडेलले बताए ।
परीक्षार्थी संख्याअनुसार सबैभन्दा कम मनाङ्ग जिल्लाबाट कक्षा ११ को परिक्षामा ५१ जना र कक्षा १२ मा ५९ जना सहभागी हुनेछन् ।
सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् ।
नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय २२ वटा र सबैभन्दा कम मनाङ÷मुस्ताङ जिल्लामा १÷१ केन्द्र निर्धारण गरिएको समेत बोर्डले जानकारी दिएको छ ।
विशेष व्यवस्थाको रुपमा विगतका वर्षमा जस्तै कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ ।
कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डको भनाई रहेको छ ।
परिक्षा परिक्षार्थीमैत्री हुने दाबी
बोर्डले परीक्षा आफैंमा सम्वेदनशील विषय भएकाले कक्षा १२ तथा कक्षा ११ को वार्षिक परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउने बताएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको तथा उक्त समितिलाई जिल्ला भरिका परीक्षा केन्द्रहरुको अनुगमन गर्ने अधिकार दिएको छ ।
यो वर्षको परीक्षामा परिक्षा हलभित्र जो कोहीलाई पनि फोटो खिच्न, अडियो, भिडियो रेकर्ड गर्न निषेध गरिएको र सञ्चारकर्मीलाई समेत बाहिर दृश्यमात्र कैद गर्न बोर्डले आग्रह गरेको हो ।