बीआरआईमा रेल समेटियो, योजना अघि बढ्ने अब निश्चित

काठमाडौं, १५ वैशाख  –  नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो। योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ।

विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ। विभिन्न मुलुकसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औं बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ। ३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुख सम्मिलित गोलमेचपछि ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ। वक्तव्यमा तीन ‘एनेक्स’ समेत छुट्याएर बीआरआईमार्फत अहिले भइरहेका र भविष्यमा हुने सहकार्यका योजना सूचीबद्ध छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्मेलन निकै फलदायी रहेको बताए। सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले नेपालसहित सबै मुलुकसँग हुने सहकार्यलाई चीनले तालिकासहित बाहिर ल्याउने स्पष्ट पारे। सम्मेलन समापन समारोहमा राष्ट्रपति सीले बीआरआई परियोजनामा १५० मुलुकले चीनसँग सम्झौता गरेको जानकारी दिए। उनले भने, ‘साझा लक्ष्य हासिल गर्न र खुलापन तथा सुधारका क्षेत्रमा अगाडि बढ्न बीआरआई कोसेढुंगा हुनेछ।’

चीनले नेपाललाई दक्षिण एसियासँग जोड्ने मुख्य द्वारका रूपमा लिँदै आएको छ। बीआरआईको फ्रेमवर्कभित्रको परियोजनामा रेल र हिमालय वारपार सञ्जाल विस्तार पर्नुलाई सकारात्मक मानिन्छ। नेपालले लामो समयदेखि चिनियाँ फ्रेमवर्कभित्र रेलवे विस्तार पार्नुपर्ने आग्रह गर्दै आएको थियो।

३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुखबीच भएको सहमति कार्यान्वयनमा शंका नरहेको अधिकारीहरूले बताएका छन्। सम्मेलनमा पाँच हजारभन्दा बढी सहभागी थिए। सम्मेलन विभिन्न फरकफरक सत्रमा चलेको थियो।‘हिमालय वारपार र रेल सञ्जालसम्बन्धी नेपालको प्रस्ताव बीआरआईले स्वीकार गरेपछि हामी खुसी भएका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘अब हाम्रा योजना छिट्टै कार्यान्वयन तहमा अघि बढ्नेछ।’

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच सोमबार हुने दुईपक्षीय वार्तामा सहकार्यको ठोस आधार तय हुने मन्त्री ज्ञवालीले बताए। ‘चीनले नेपालसँगको भौतिक साझेदारी थप उचाइमा पु¥याउनेमा हामी विश्वस्त छौं। रेल महत्त्वाकांक्षी र जटिल विषय हो। अब नेपालमा चिनियाँ रेल आउनेमा हामी निश्चिन्त छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘परियोजना कार्यान्वयनले नेपाललाई मात्र होइन, चीनका लागि पनि सफलताको छुट्टै बाटो तय हुनेछ।’ हिमालयको काखबाट गरिने रेलयात्रा साँच्चै लोभलाग्दो हुने मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीका अनुसार नेपाल र चीनबीच हिमालय वारपार सहकार्यमा सडक सञ्जालका विषय पनि समावेश हुनेछन्।

दुई मुलुकबीच सोमबार २०१६ मा अघि बढेको प्रोटोकलमा हस्ताक्षर हुनेछ। यस्तै चिनियाँ भूमि प्रयोग गरेर समुद्रसम्म पुग्ने समझदारी हुनेछ। यसले भारतसँग रहँदै आएको परनिर्भरता अन्त्य हुने मन्त्री ज्ञवालीले बताए। चीनसँगको नाका स्तरवृद्धि गर्ने काम भइरहेको दाबी मन्त्री ज्ञवालीले गरे। उनले भने, ‘कालीगण्डकी, कर्णाली करिडोर, रसुवागढी–काठमाडौं सडक खण्ड विस्तार, हिल्सा र किमाथांकामा पनि काम भइरहेको छ। त्यस्तै तातोपानी नाका सञ्चालनमा सहमति भइसकेको छ।’ बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीको सहभागिताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको ज्ञवालीले बताए।

‘हिमालय वारपार र रेल सञ्जालसम्बन्धी नेपालको प्रस्ताव बीआरआईले स्विकारेपछि हामी खुसी भएका छौं। अब हाम्रा योजना छिट्टै अघि बढ्नेछ। – ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

राष्ट्रपति भण्डारीबाट शुक्रबार उच्चस्तरीय सम्मेलन र शनिबार गोलमेच सम्मेलनमा सम्बोधन भएको थियो। बेइजिङको उत्तरपूर्वी भागमा अवस्थित यान्छी ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गोलमेच सम्मेलन समापन भएपछि राष्ट्रपति सीले संयुक्त वक्तव्य बाहिर ल्याएका थिए।

प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएको राष्ट्रपति भण्डारीको भनाइ छ। ‘यसले भूपरिवेष्टित नेपालको कनेक्टिभिटी विस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रूपान्तरणमा ठूलो टेवा पु¥याउने हाम्रो विश्वास छ,’ भण्डारीको भनाइ थियो, ‘यसका साथै, हाम्रा आर्थिक अवसरमा बढोत्तरी गर्दै गरिबी उन्मूलन गर्न, व्यापार विस्तार गर्न, उद्योगमा क्रान्ति ल्याउन, रोजगारी सिर्जना गर्न तथा जीवनस्तरमा सुधार ल्याउन बीआरआई ठूलो सहयोगी बन्ने अपेक्षा छ।’

तेस्रो सत्रको गोलमेच सम्मेलनअन्तर्गत यूएन २०३० एजेन्डा कार्यान्वयनका लागि हरित तथा दिगो विकासको प्रवद्र्धन विषयक गोलमेचमा पनि राष्ट्रपति भण्डारीबाट सम्बोधन भएको थियो। राष्ट्रपति भण्डारीको सम्बोधनमा दिगो विकासका लागि २०३० एजेन्डा जनता, पृथ्वी र समृद्धिका लागि रहेको उल्लेख छ। समावेशिता विनाको दिगो विकास भ्रममात्र हुने राष्ट्रपति भण्डारीको धारणा छ। यो महत्त्वाकांक्षी सोचको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव हुने राष्ट्रपतिको भनाइ थियो।

सीको सक्रियता

चिनियाँ राष्ट्रपति सी सम्मेलनका विभिन्न सत्रमा सक्रिय रहे। उनले अतिथिको सम्मानमा स्वागत समारोह आयोजना गरे। शीर्षस्थ नेताहरूको गोलमेच सम्मेलन गराए। उपस्थित सबैलाई शुक्रबार साँझ रिसेप्सन दिँदै उनले संक्षिप्त भेटवार्ता पनि गरे। राष्ट्रपति सीले सम्मेलनमा विश्वका नेताबीच बेल्ट एन्ड रोड सहकार्य सम्बन्धमा बहस चलाएर दिग्गज नेतालाई सहमत गराएका थिए।

सम्मेलनमा बीआरआईमा भारतलाई पनि छिट्टै समावेश गर्ने विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए। बीआरआई सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमत्री माधवकुमार नेपाल, सरकारका चार मन्त्री र अन्य उच्च अधिकारी सहभागी थिए।

सहभागी सबै दंग

बीआरआईमा नेपाल–चीन सीमापार रेल मार्ग परियोजना र हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको विषय परेपछि नेपाली प्रतिनिधिमण्डलको मुहारमा चमक थियो। उपस्थित अन्य मुलुकका नेता पनि प्रफुल्ल देखिन्थे। चिनियाँ राष्ट्रपति सी भने सबैलाई धन्यवाद दिँदै बिदाइमा व्यस्त थिए। चिनियाँहरू आगन्तुकलाई खुसी पार्न पारंगत रहेकाले पनि सहभागी सबै दंग देखिएका हुन्।

यसैबीच बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज आयोजना गरेको छ। समारोहमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए। यसअघि शुक्रबार साँझ चिनियाँ राष्ट्राध्यक्ष सीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति भण्डारीको सहभागिता रह्यो।

अबको कार्यक्रम

राष्ट्रपति भण्डारीले आइतबार बिहान चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि नेपाल–चीन व्यापार र व्यवसाय मञ्चमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा राष्ट्रपतिका साथ आएका प्रतिनिधिमण्डल सहभागी हुनेछन्। अवसरमा नेपाल लगानी बोर्ड र चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीबीच नेपालमा लगानीसम्बन्धमा अनुभव आदानप्रदानका साथै सम्झौतामा हस्ताक्षर गरिने दूतावासले जनाएको छ।

मञ्चमा सहभागी भएपछि राष्ट्रपतिले बेइजिङको केन्द्रमा रहेको नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्य अवलोकन गर्ने कार्यक्रम छ। साँझ अन्तर्राष्ट्रिय बागवानी प्रदर्र्शनीमा नेपालले बनाएको लुम्बिनी शान्ति बगैंचाको अवलोकन गर्ने कार्यक्रम छ। सोमबार नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने दूतवासका अधिकारीले बताए। अन्नपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार