डोल्पा पठाइएको चामल किन भयो बाटोमै बिक्री !

डोल्पा, २० वैशाख – नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् ।

जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । तुल्सीपुरबाट आएको चामल बाटोमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन, मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, गाउँमा चामल छैन ।

सरकारी अनुदानमा उपलब्ध गराइने चामल ठेकेदारमार्फत ढुवानी हुने गरेको छ । यसपटक बिसी ट्रेडर्स, सल्यानलाई ठेक्का दिएको थियो । ठेकेदार जनक बुढाले खाद्य संस्थानका कर्मचारी मुकुन्द पनेरूको उपस्थितिमै एक हजार क्विन्टल चामल रुकुममा बिक्री गरेका हुन् ।

नेपाल खाद्य संस्थान, डोल्पाका प्रमुख कमलराज पाण्डेले बाटोमै चामल बिक्री भएको स्वीकार गरेका छन् । यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको र त्यसमध्ये एक हजार क्विन्टल चामल रुकुमको त्रिवेणीका बासिन्दालाई बिक्री गरिएको रहेको छ, पाण्डेले भने । मुड्केचुलाका बासिन्दाले चामल नपाएको गुनासो गरेको पाण्डेको भनाइ छ ।

अहिले सर्मी डिपोमा एक गेडा चामल पनि छैन, उनले भने । कर्मचारी, जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा चामल बिक्री पाइएको जनाएको छ । चामल बाटोमै बिक्री भएपछि सर्मीका बासिन्दा भने समस्यामा परेका छन् । उनीहरूले चामल खरिद गर्न नपाएको गुनासो गरेका छन् । मुड्केचुला गाउँपालिकामा खाद्यान्न उत्पादन हुँदैन । बाहिरबाटै आयात गर्नुको विकल्प छैन ।

चामल बेच्ने कर्मचारी र ठेकेदारलाई कारबाहीको माग
डोल्पा मुड्केचुलाका स्थानीय चामलको आसमा दैनिक सर्मी डिपो पुग्ने गरेका छन् । तर, उनीहरू रित्तै घर फर्किनुपरेको छ । उनीहरूले बाटोमै चामल बेच्ने कर्मचारी र ठेकेदारलाई कारबाहीको माग गरेका छन् ।

चामलको अभाव खेपेका स्थानीय दैनिक डिपोमा आइरहेका छन् । तर, उनीहरूलाई सधैँ रित्तो हात घर फर्काउँदा ढाँटेजस्तो भइरहेको छ, मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने । उनले चामल बेच्ने कर्मचारी र ठेकेदारलाई कारबाहीको माग गरे ।

रुकुमको त्रिवेणीमै चामल बेच्दा ढुवानी भाडाबाट फाइदा हुने भएकाले ठेकेदारले बदमासी गरेको शाहीले बताए । त्रिवेणीबाट सर्मी डिपो पुग्न सडकमार्ग छैन, खच्चर र भेडालाई बोकाएर पुर्‍याउन एक दिन लाग्छ । आजको नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार