आध्यात्मिकताको जगमा उभिएको नेपाल र विश्वशान्तिको दृष्टि

डा. प्रदीप ढकाल

काठमान्डाै — नेपाल, जहाँ सेता हिमालयका टाकुरा, पहाडका चुचुरा र तराईको समथर भूमि, साथमा घना जङ्गलदेखि उजाड डाँडाहरू एवम् छहरादेखि छङछङ गर्दै बग्ने नदीहरू एकै ठाउँमा समिश्रित छन् । यी सम्पदाहरूमा समृद्धता छ, अनन्त शक्ति छ । त्यही अनन्त शक्तिका हामी अधिकारी हौँ । विभिन्न जातजाति र समाजहरू मिलेर बनेको अनेकतामा एकता भएको हाम्रो सामाजिक र साँस्कृतिक परम्परामा हामी रमाएका छौँ । हाम्रो देश आपसी भाइचारा, मानवीयता, सामाजिक सद्भाव, मानवीय उच्च चेतनाको प्रवाह भएको भूमि हो ।

प्रकृतिको दिव्य बगैँचा

हिमालयको काखमा रहेको हाम्रो यो भूमि आध्यात्मिक मुटु हो । यहाँ हरेक तत्वमा ईश्वरीय बास छ भन्ने सोचाइले मानिसहरू हरेक तत्वलाई पुज्दछन् । ईश्वरीय अस्तित्वप्रति प्रवल आस्था रहेकोले यहाँका मानवमा आध्यात्मिक भावना प्रबल छ, जसले हरेक तत्वमा ईश्वर देख्दछन् र ईश्वरीय सम्भावनालाई खोज्दछन् । आमा, बाबा र अतिथि ईश्वरसमान हुन्छन् भन्ने नेपाली विश्वास सदियौँदेखि नै रहिरहेको छ । गाउँगाउँ र सहरका टोलटोलमा यो भावना रहेको छ । हाम्रो यो देश त्यही भूमि हो जहाँ बुद्धजस्ता ज्ञानीले जीवनको परिभाषा दिएर मानव जीवनका लागि सुख र शान्तिको मार्ग दिएर गएका छन् । अहिले पनि यहाँ कैयौँ ज्ञानी र सन्तमहात्माले यो भूमिमा आफ्नो आध्यात्मिक शक्तिको प्रवाह गरिरहेका छन् ।

यहाँका मठ–मन्दिर, चैत्य–गुम्बा आदिले यो देशलाई देवभूमि बनाएका छन् । यहाँका पहाड र हिमाल अनि नदी किनारामा गरिने तप, ध्यान, साधना आदिले यो देशलाई देवत्वमा पुग्ने तपोभूमिको रूपमा स्थापित गरेको छ । यहाँ अनेकौँ ऋषिमुनि, सन्तमहात्माहरू जीवनको पाठ पढाउँदै हिँड्छन् । त्यस्तै हिन्दु र बौद्ध सन्त र भिक्षुहरू शान्तिका मन्त्र गुन्जाउँदै हिँड्छन् । यही हो नेपाल, यही हो प्रकृतिको दिव्य भूमि नेपाल ।

नेपाली मूल्य र मान्यता

हाम्रा कतिपय परम्पराहरू जीवित रूपमा रहिरहेका छन् । चाडपर्व, अ‍ैँचोपैँचो, मेलापात, अर्मपर्म, सरसापट, मर्दाको मलामी ज्युँदाको जन्तीजस्ता भावनाहरू यहाँ जीवित छन् । लोकपरम्परामा जीवितै रहेर सदियौँदेखिका धर्म, संस्कृतिका अविच्छिन्न परम्पराहरू देशमा विद्यमान छन् । तिनले देशका सामाजिक, साँस्कृतिक, आर्थिकलगायतका अवयवलाई जोडिरहेका छन् ।

हाम्रो दर्शनमा एक व्यक्तिले स्वयमलाई सोध्दछ — म किन यो धर्तीमा छु ? मैले गर्नुपर्ने कर्तव्य के हो ? मेरो जीवनको लक्ष्य के हो ? मेरो मानव हुनुको दायित्व के हो ? यिनै प्रश्नको उत्तर खोजेर जीवन जिउने पद्धति सिकाउँछ हाम्रो दर्शनले । यिनै प्रश्नको उत्तरका साथ एक व्यक्तिले समाजमा अन्तरक्रिया गरिरहन्छ । यसरी एउटा सभ्य र समुन्नत समाजको निर्माण हुन्छ । मानव जीवन अर्थपूर्ण बन्दछ ।

सानाले ठूलालाई आदर गर्ने, शिष्यले गुरुलाई ढोग्ने, ठूलाले सानालाई मार्ग निर्देश गर्ने, आमा, बाबा र गुरु ईश्वरसमान हुन्छन् भन्दै उनीहरूलाई पुज्ने, लोकको हितको प्रार्थना गर्ने साधुसन्त र भिक्षुहरूलाई श्रद्धा गर्ने हाम्रो संस्कार हो । कोही लड्यो भने उठाउने, कोही घाइते छ भने उपचार गर्ने, कोही अभावमा छ भने उसलाई मद्दत गर्ने हाम्रो संस्कार हो । घाँसीले घाँस काटेर धन जम्मा गरी सबैका लागि पानी पिउने कुवा बनाउने थलो हो हाम्रो यो भूमि ।

हामी हजारौँ साधु र भिक्षुलाई स्वागत गरी भोजन गराउन रुचाउने संस्कारका सन्तति हौँ । हामी अतिथिलाई देव मान्ने, आवश्यकता परेकालाई निस्वार्थ सेवा गर्ने संस्कृतिका अनुयायी हौँ । दान हाम्रो प्रकृति हो । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएकै बेस आनन्दी मनले’ भन्ने संस्कार छ हामीमा ।

जसरी प्रकृतिमा ढुङ्गा, पानी, माटो, हावा, घामबाट सृष्टि चल्दछ त्यसैगरी विभिन्न मानव समूह, संस्कृति, भाषा र परम्पराहरूबाट हाम्रो राष्ट्रको जीवन चलिरहेको छ । उपनिषद्, गीता अनि धम्मपद र बुद्धको जीवनचरित्रलाई आधार मानेर चलिरहेको समाज हो – नेपाली समाज । ‘अहिंसा परमो धर्म’ अर्थात््अहिंसा नै धर्म हो भन्दै रुखो बोलीले कसैलाई चित्त दुखाउनु पनि हिंसा मान्ने संस्कार हो नेपाली संस्कार ।

जीवन दर्शन

नेपाली जीवन दृष्टिकोणअनुसार व्यक्तिको जीवन पदार्थबाट सुरु हुन्छ । एक भौतिक मानव मानवीय प्रज्ञामा पुग्दछ र त्यहाँबाट आध्यात्मिक चेतनाको स्तरमा पुग्दछ । आध्यात्मिक चेतनाको स्तरबाट समेत अगाडि बढेर ईश्वरीय शक्तिमा समेत रूपान्तरित हुन सक्दछ । नेपाली दृष्टिले एक व्यक्ति हरेक तत्वमा ईश्वर देख्ने गरी भौतिकतालाई नाघेर आध्यात्मिकताको माथिल्लो बिन्दुमा पुग्दछ ।

हामी रुखबिरुवा, प्राकृतिक सम्पदा र प्रकृतिका अन्य जीवको विनास गर्नुलाई प्रकृतिमाथिको विजय मान्दैनौँ । हामी आफू स्वयममा रहेको अज्ञानता र अहङ्कारमाथि विजय पाउनुलाई साँचो विजय ठान्दछौँ । यही नै नेपाली धर्मको आधारशिला हो ।

यहाँ प्रचलित हिन्दु धर्म कुनै व्यक्ति विशेषद्वारा प्रतिपादित धर्म होइन । यो त हजारौँ बर्षदेखि चलि आएको मानवीय परम्परा हो । समय सँगसँगै नराम्रा परम्परालाई छाडेर राम्रा परम्परालाई कायम राख्दै बदलिँदो विश्वसँग सामञ्जस्य राख्दै मानवहरूलाई सत्मार्गमा डोर्याउने र मानव जीवनलाई अर्थपूर्ण र मूल्यवान बनाउँदै अघि बढ्ने परम्परा नै हिन्दु धर्म हो । यसै कारणले गर्दा नै यो धर्म फरक र विशिष्ट छ । अर्को अर्थमा भन्नुपर्दा, यो मानवको जीवनपद्धति हो । बृहदारण्यक उपनिषदमा भनिएको छ — असत्यबाट सत्यतर्फ लैजाउ, अन्धकारबाट प्रकाशतर्फ लैजाउ र मृत्युबाट अमरतातर्फ लैजाउ ।

हाम्रो दर्शनले भन्दछ — तिमी पनि क्षणिक छौ । यो पृथ्वी पनि क्षणिक हो । सृष्टि पनि क्षणिक हो । आफ्नो कर्मलाई परिष्कृत गर्दै गयौ भने अन्ततः तिमी सम्बोधिको अवस्थामा पुग्दछौ । त्यसैले तिम्रो कर्म अहिले नै सुधार गर । जसरी तिमी छौ त्यस्तैगरी यो पृथ्वीमा रहेका अन्य अवयवहरूको पनि अस्तित्व स्वीकार गर । अरुलाई पनि बाँच्न देउ । पहिला आफूलाई चिन । तिमी को हौ त्यो बुझ ।

हाम्रो दर्शनले भन्दछ — बरु प्राणै त्यागिदेउ – प्राण पनि केही होइन – तर समाजको हित सबैभन्दा ठूलो हो । अरुको हित, अरुको कल्याण गर भन्ने हाम्रो सन्देश हो । व्यक्तिले केवल खानका लागि मात्र काम गर्छ भन्ने सिद्धान्त यो दर्शनको छेउसम्म पनि आउन सक्दैन । शरीर भनेको आत्माको स्थल हो यसलाई स्वस्थ राख्नुपर्छ । कोही पनि मानिसहरू भोकै नमरुन्, कोही पनि मानिसहरू विना उपचार नमरुन्, कोही पनि मानिस आत्मसम्मानका साथ जिउन् र समग्रमा, एक मानव हुनुको बोध गरेर जिउन् । यही भावना अन्तरनिहीत छ यसमा । यो हाम्रो दर्शन हो ।

हामी नेपालीहरू हरेक तत्वमा जीवन छ भन्ने मतका अनुयायी हौँ । हामीहरू मानवमात्र होइन सृष्टिका हरेक प्राणी र वस्तुमा जीवन छ भन्ने बोध भएका मानिस हौँ । त्यसैले हामी नेपालीका लागि कोही पनि पराई छैनन् । सबै मानवहरू विश्वदेशका नागरिक हुन् । सबै प्राणीहरू पृथ्वीका बासिन्दा हुन् । नेपाली आत्मामा रहेको यही भावना नै नेपाली भावना हो ।

हरेक व्यक्तिव्यक्तिमा जागरण आइसकेपछि विश्वभर सामाजिक सौहार्दता र सहिष्णुताका आधारमा व्यवहार हुनेछ । न त कुनै शासकको जरुरत पर्दछ न त शासितको । सबै मानिसहरू स्वयम सञ्चालित हुन्छन् । हाम्रा प्राचीन मूल्य र मान्यताको सोच यही धारमा रहेको थियो । हाम्रा ऋषिमहर्षिहरूले त सारा मानव एक हुन भन्दै विश्वदेशको उद्घोष गरिसकेका थिए ।

देशको रूपमा नेपालको उद्देश्य र लक्ष्य

मानव जीवनको उद्देश्य हुनुपर्दछ । अनि राष्ट्रको पनि उद्देश्य हुनुपर्दछ । मानव सिर्जित संघसंस्था र सङ्गठनहरू कुनै उद्देश्य प्राप्तिका लागि निर्माण गरिएका हुन्छन् । राष्ट्रको उद्देश्य हो – हरेक मानवलाई सुरक्षा प्रदान गर्नु, शिक्षा दिनु र अन्ततः उसलाई बोध गराउनु कि ऊ अब पूर्ण रूपमा स्वतन्त्र छ । हरेक व्यक्तिलाई यो बोध गराउनु कि ऊ के हो ? उसको जीवन के हो ? तत्पश्चात व्यक्ति–व्यक्तिहरू सह–अस्तित्वका आधारमा व्यवहार गर्न सक्दछन् । अनि सारा विश्वका मानवहरू सौहार्द रूपमा जीवन जिउन सक्दछन् । अनि पूरा हुन्छ राष्ट्रको उद्देश्य अनि स्वतः निर्माण हुनेछ – विश्वसमाज । राष्ट्रको रूपमा हाम्रो देश नेपालको उद्देश्य हो – “मानव–मानवबीच कोरिएका विग्रहका रेखाहरू मेटाइदिनु ।” मानव र प्रकृतिबीच सामञ्जस्यता कायम गर्नु । राज्यको दायित्व हो – सबै नागरिकको संरक्षण गर्नु, न्यायपूर्ण सामाजिक व्यवस्था कायम गर्नु, देशको सर्वाङ्गीण हितका लागि कार्य गर्नु, राष्ट्रियताको संवद्र्धन गर्नु र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठालाई अभिबृद्धि गर्नु ।

हामी नेपालीको लक्ष्य हो – समृद्ध र शान्तिपूर्ण नेपालको स्थापना । लोकतान्त्रिक पद्धतिद्वारा सञ्चालित आत्मनिर्भर, स्वावलम्बी र न्यायपूर्ण समाजको सिर्जना । स्वतन्त्र र सार्वभौम राष्ट्रको भावनालाई कायम राख्दै मुलुकका प्राकृतिक श्रोतको उचित र न्यायिक प्रयोग गर्दै यहाँका नागरिकको जीवनलाई उन्नत बनाई विश्वमा नै एक मानवीय भावनाको प्रवाह भएको मुलुकको रूपमा स्थापित गर्ने । सामाजिक रूपमा भातृत्व र सहअस्तित्वपूर्ण, आर्थिक रूपमा आत्मनिर्भर, नैतिक र मानवीय मूल्यमा आधारित र राजनैतिक रूपमा पूर्ण लोकतान्त्रिक मान्यतामा आधारित न्यायपूर्ण र समृद्ध समाजको सिर्जना गर्नु नेपालको लक्ष्य हो ।

हाम्रो देशमा सिर्जना हुने मानवीय र आध्यात्मिक शक्तिले विश्वलाई नै मार्ग देखाउनु नेपालको लक्ष्य हो । विश्वले हामीबाट आशा गर्ने पक्ष हुन् – शान्ति, मानवता, सहिष्णुता, सात्विक विचार र सत्य । हामीले विश्वलाई दिने कुरा यिनै हुन् जुन अनुपम छन् र जसले सम्पूर्ण मानवका हृदयमा शान्ति छर्न सक्दछन् ।

विश्व दृष्टि र मार्ग

अहिले विश्वको एक कुनाको मानव र अर्को कुनाको मानवबीच परिचय भइसकेको छ । मानवसंसारमा मानवको एउटै मात्र जाति छ भन्ने ज्ञात भइसकेको छ । त्यसैले सारा विश्व एक अङ्ग हो र राष्ट्रहरू स–साना इकाई । विश्वका सारा मानवहरू एक हुन् । पृथ्वी सबैको साझा घर हो । त्यसैले राष्ट्रियताको भावना पनि सामाजिक सहअस्तित्व र मानवताप्रति उत्तरदायी हुनैपर्छ ।

हामीले आफूसँग जे छ त्यही नै दिने हो । अरुसँग सापटी लिएको चीज जति धेरै दिएपनि त्यो आफ्नो हुँदैन, त्यसमा अपनत्व र स्वामित्व हुँदैन । हामीसँग आध्यात्मिक सम्पत्ति छ – त्यही हो दिने । संसारका सबै मानव खुसी रहून भन्ने हाम्रो ध्येय हो । अहिले हाम्रो देशमात्र सुखी रहनका लागि पनि विश्वका तमाम देशहरू सुखी रहनुपर्दछ ।

त्यसैले पहिले यहाँको भूमि जाग्नेछ ताकि यसले वाँकी सारा विश्वलाई जगाओस् । हो, हामीसँग अध्यात्मको यो अथाह सम्पत्ति छ । यही सम्पत्तिको प्रयोग गर्नु छ – मानवतालाई ज्युँदो राख्नका लागि । युगको यो प्रवाहमा हाम्रो कर्तव्य यही नै हो । कमसेकम एउटा देशले आफूमा अन्तरनिहित शक्तिको प्रयोग गरी मानवता र शान्तिको मार्गमा उदाहरण बन्न सक्यो भने विश्वका हरेक देशहरुले त्यस उदाहरणलाई पछ्याउनेछन र विश्व शान्तिको ढोका खुल्नेछ भन्ने मेरो आशा हो । र यो आशा सम्भव सत्य पनि हो ।

एशिया प्रशान्त शान्ति अनुसन्धान संस्थाको इन्डोनेसियाको जाकार्तामा भएको अन्तराष्ट्रिय सम्मेलनमा गरेको सम्बोधन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार