फोरम र नयाँ शक्तिबीचको एकता, वरियतामा डा. भट्टराई पहिलो र यादव दोस्रो, वैशाख २३मा एकताको घोषणा


काठमाडौं, २२ वैशाख – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । एकीकृत पार्टीको घोषणा २३ वैशाख (सोमबार) मा नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिनेछ ।

फोरम नेपाल र नयाँ शक्तिको बसेको छुटाछुटै केन्द्रीय समिति बैठकले एकीकरणका लागि भएकोसहमति अनुसार एकता गर्ने प्रस्ताव अनुमोदन गरेसँगै एकीकरण हुने सुनिश्चित भएको हो । बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा सो पार्टीका संयोजक डा। बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकीकरण गर्ने सहमति पत्रमा शनिबार हस्ताक्षर गरेका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्दै भट्टराई र यादवले पार्टी एकीकरणको घोषणा २३ वैशाखमा गर्ने उल्लेख गरेका छन् । एकीकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।

‘समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा बिद्यमान जातीय, बर्गीय, लैङ्गिक र क्षेत्रिय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ’ सहमति पत्रमा उल्लेख गरिएको छ ।

शीर्ष नेताहरुका बीचमा भएको सहमति अनुसार पार्टीमा दुई अध्यक्ष रहनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले गर्ने छन् भने, केन्द्रीय कमिटीको अध्यक्षता यादवले गर्नेछन् । वरियता रोलक्रम अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराई पहिलो तथा बहालवाला उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव दोस्रो वरियतामा रहनेछन् ।

संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ । संघीय संसद्मा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन् ।

एकीकृत पार्टीको पदाधिकारीमा फोरम नेपालबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने सहमति भएको छ । अन्य पदाधिकारी एवं जिम्मेवारी विषयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ ।

पदीय जिम्मेवारी बाँडफाँट गर्ने क्रममा दुई अध्यक्ष र वरिष्ठ नेतामा अशोक राईलाई राख्ने सहमति भएको छ । महासचिवमा फोरमबाट रामसहाय यादव, नयाँ शक्तिबाट गंगा श्रेष्ठ, तत्कालीन समाजवादी पार्टी ९अशोक राई०बाट राजेन्द्र श्रेष्ठलाई राख्ने सहमति भएको छ ।

यसैगरी, प्रदेश १, २ र ५ मा फोरमको नेतृत्व रहनेछ भने प्रदेश ३ मा अशोक राई नेतृत्वको पार्टीबाट र प्रदेश ४, ६ र ७ मा नयाँ शक्तिबाट नेतृत्व हुने सहमति भएको छ । अन्य नेतालाई त्यहाँ समायोजन गरिनेछ ।

यसअघि फोरम नेपाल र नयाँ शक्तिबीच पार्टी एकीकरण गर्ने भनेर विभिन्न चरणमा छलफल पश्चात् एकता घोषणा गर्नु एक दिनअघि भाँडिएको थियो । तर, एकीकरणलाई टुंगोमा पु¥याउन शीर्ष नेता गम्भीर रूपमा छलफल जारी नै राखेपछि पुनः एकीकरण गर्ने सहमति जुटेको हो ।

नयाँ शक्तिले फोरमलाई सरकारबाट बाहिरिनुपर्ने सर्त अगाडि सारेपछि फोरमले एकीकृत पार्टीको निर्णयानुसार अगाडि बढने जनाएको छ । संविधान संशोधनका लागि सरकारमा सहभागी भएको र संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने नभए सरकारबाट बाहिरिने दुई पार्टीको बीचमा सहमति भएको छ ।

उता राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा नेपाल० र जनमुक्ति पार्टी पनि एकीकरणमा आउने भनिए पनि यी दुई पार्टी सहभागी नहुने भएका छन् । दुबै पार्टीसंगको छलफलमा एकीकरणका बिषयमा कुरा भए पनि सहमति जुटन नसकेको हो ।

महाधिवेशन स्थगित

फोरम नेपाल र नयाँ शक्तिको बीचमा पार्टी एकीकरण गर्ने सहमति भएपछि फोरम नेपालको महाधिवेशन स्थगित हुने भएको छ । २८, २९ र ३० बैशाखमा जनकपुरधाममा गर्ने भनिएको फोरम नेपालको महाधिवेशन स्थगित भएको छ ।

दुई दलका बीचमा पार्टी एकीकरण गर्ने सहमतिसंगै फोरम नेपालको महाधिवेशन स्थगित भएको हो । एकिकृत पार्टीको महाधिवेशन ६ महिना भित्रमा गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार