कांग्रेसको विरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडाैं, २४ वैशाख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुत आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदको गरिमा घटाएको भन्दै प्रमुख प्रतिपक्षीको विरोधका बाबजुत संसदले नीति तथा कार्यक्रम पास गरेको हो।

प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेको शब्दवलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोधको प्रयास गरेका थिए । सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले प्रस्टीकरण दिने क्रममा आक्रोस, कुण्ठा र निम्सरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नहरुको उत्तर दिन्छु भनेपछि कांग्रेस सांसदहरुले विरोध जनाएका हुन् । यही अभिव्यक्तिले सं‌सदमा हंगामा भयो र प्रधानमन्त्री आफ्नै शब्दका कारण आफैं अपमानित बन्नु पर्यो ।

सभामुख कृष्णबहादुर महराले सो घटनाबारे आफ्नो ध्यानाकर्षण भएको बताए । त्यो शब्दलाई रेकर्डबाट हटाउने बारेमा पनि छलफल गर्ने पनि बताएर प्रधानमन्त्रीलाई उत्तर दिन समय दिएपछि काँग्रेसले संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी समेत गर्यो ।

प्रधानमन्त्री ओलीले पनि नाराबाजीकाबीच नै आफ्ना कुराहरु हतार हतार सकेर आफ्नै कुर्सीतिर फर्किए । यसरी प्रधानमन्त्री आफ्नै शब्दका कारण यस्तो अपमान सहन बाध्य भए कि उनी संसदको रोष्टममा बोल्दैगर्दा उनी विरुद्ध नै सांसदहरुले नाराबाजी गरिरहेका थिए । त्यो पनि प्रधानमन्त्रीले संसदीय मर्यादा राखेनन् भनेर। त्यसलाई पेलेर हतार हतारमा आफ्नो भनाइ सकेर फर्कनु पर्ने अवस्थालाई संसदीय मामलाका जानकारहरु ठूलो अपमानको रुपमा लिन्छन् । 

प्रधानमन्त्रीको शब्दावलीप्रति पहिले कांग्रेस सांसद मिन विश्वकर्माले विरोध गरे। त्यसपछि कांग्रेसका अन्य सांसदहरु उठेर विरोध जनाए। सभामुख महराले प्रधानमन्त्रीको प्रस्टीकरण सुनिदिन पटक पटक आग्रह गरे। त्यसपछि पनि कांग्रेस सांसदहरु संसदीय मर्यादा पालना गर्न माग गर्दै बस्न नमानेपछि प्रधानमन्त्रीले छोटोमा जवाफ दिए।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम माथिको छलफल सकिएको सभामुख महराले घोषणा गरे। लगत्तै सभामुखले प्रक्रिया अगाडि बढाए। नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गराइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार