पञ्चेबाजा घन्काइएर कमरेड प्रचण्ड र सीताको विवाह सम्पन्न

काठमाण्डौ —  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सिता दाहालको पञ्चेबाजा घन्काइएर धुम धामका साथ फेरि विहे सम्पन्न भएको छ । २०२६ साल वैशाख २६ गतेका दिन अध्यक्ष प्रचण्ड र सीता पहिलो पटक विवाह बन्धनमा बाँधिएका थिए  ।

विवाहको ५० औँ वर्षगाँठका अवसरमा बिहीबार पुनः दोस्रो पटक विवाह भएको हो । पुत्र प्रकाशको निधनपछि श्रीमती सीताको स्वास्थ्य अवस्था दिनानु दिन कमजोर बन्दै गएको छ । प्रचण्डसँगै श्रीमती सीता पनि बेहुलीकै साडीचोलोमा सजिएकी थिइन । तर स्वास्थ्य अवस्थाका कारण राम्रोसँग उभिन नसक्दा छोरी रेणु दाहालले साथ दिइन। समारोहमा दुवै जनाले एक आपसलाई माला लगाइदिँदै परम्परा अनुसार विवाह गरेका थिए ।

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएपछि विक्षिप्त बन्नुभएकी सीताको मन मन भुलाउन विवाह गरिएको हो । सीताकै आग्रहमा दोस्रो पटक विवाह गरेको कमरेड प्रचण्डले समारोहमा बताए ।

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, सरकारका मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, डा‍‍. बाबुराम भट्टराई, नेकपाका महासचिव विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार