सरकारले प्रेस स्वतन्त्रतामाथि ‘कू’ गर्न खोज्यो – काँग्रेस सभापति देउवा

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको ”मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक” माथि कडा टिप्पणी गरेका छन् । विधेयक हु–बहु पारित भए त्यो प्रेस स्वतन्त्रताका लागि ‘कू’ हुने बताएका हुन् ।

आईतबार पार्टी कार्यालय सानेपामा पार्टी महामन्त्री, सहमहामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकहरुलाई साथमा राखी गरेको पत्रकार सम्मेलनमा देउवाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रामाथिको ‘कू’ भएको बताए ।

पत्रकार सम्मेलनको क्रममा देउवाले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि संविधान विपरित सरकारले प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउने कोशिष गरेकोप्रति आपत्ति समेत जनाए। उनले यस विषयमा सदनमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

लोकतन्त्रको आधारस्तम्भ मानिने प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउँदा लोकतन्त्र नै संकटमा पर्ने भन्दै उनले सो विधेयक फिर्ता लिन समेत सरकारसँग माग गरे।

सम्मेलनमा बोल्दै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले गैरस‌ंवैधानिक रुपमा ल्याइएको यो विधेयक स‌ंविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध रहेको भन्दै यो विधेयक संसदबाट पारित हुनै नसक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार