प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघको विरोध प्रदर्शन

काठमाडौं, ३ जेठ – सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंको संसद भवन बाहिर वानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत संचार सामग्रीसहित पत्रकार आन्दोलनमा उत्रिएका हुन् । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो ।

नेपालको संविधानसँग बाझिने गरी ल्याउन थालेको विधेयकको संचार सम्बद्ध संस्थाले विरोध गर्दै आएका छन् । महासंघले पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघको आव्हानमा ७७ जिल्लामै पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् । महासंघले विधेयक प्रेस स्वतन्त्रता विरोधी छ भनेर सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा सांसदहरुलाई ध्यानाकर्षण गराउनेदेखि सञ्चारमाध्यमका सम्पादकहरु, विज्ञहरु तथा महासंघका पूर्व पदाधिकारीसँग छलफल गर्ने गरेकाे थियाे । यस्तै राजनीतिक दलका शीर्ष नेतृत्वलाई ध्यानाकर्षण, विधेयकको विरुद्धमा कालो पट्टी बाँधेर काम समेत गरेका थिए ।

पहिलो चरण्को विरोधका कार्यक्रम गर्दा पनि सरकारले विधेयक नसच्चाए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि महासंघले दिएको छ । महासंघले आन्दोलन घोषणा गर्नुअघि पत्रकारका विभिन्न संघसंगठनसँग छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार