चेकजाँच गर्ने क्रममा यि मालबाहक गाडी प्रहरी नियन्त्रणमा

काठमाडौं, ७ जेष्ठ – भैरहवा भन्सार कार्यालयबाट भन्सार नै नगरी पठाइएको मालवाहक गाडीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार विशेष सुराकीको आधारमा उक्त गाडीलाई सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको साम्रगीको भन्सार (प्रज्ञापन पत्र) नपाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो।

अन्नपूर्ण पोस्टले यस अघि भैरहवा भन्सारमा हुने बेथिति र खुल्लमखुल्ला हुने घुसको कारोबारको विषयमा समाचार प्रकाशित गरेको थियो। भारतबाट आएको जीजे ०६ एजेड ६३५९ नम्बरको गाडी भन्सार छलेर भित्राइएपछि प्रहरीले नियन्त्रणमा लिइएको छ।

भन्सार कर्मचारीको मिलोमतोमा मालवाहक गाडीलाई भन्सार नै नगरी भन्सार कार्यालयबाट पठाइएको स्रोतको दावी छ। कपडा लगायत रहेको साम्रगी लोड रहेको उक्त गाडी भैरहवा नाकाबाट छिरेर काठमाडौं जान लागेको बताइएको छ।

मालवाहक गाडी विना भन्सार, भन्सार कार्यालयबाट बाहिरिएपछि प्रहरीले चेकजाँचको लागि रोक्ने क्रममा चालकले नरोकपछि पुनः गाडीलाई पछ्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीसँगै गाडीका चालक बलवन्त सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यस अघि पनि पटक पटक भैरहवा भन्सार कार्यालयबाट विना भन्सार गाडी भित्रायाउने क्रम चल्दै आएको छ। पक्राउ परेका व्यक्ति र गाडीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी स्रोतले बताएको छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले भन्सार विना नै गाडी बाहिरएको विषयमा आफूलाई जानकारी नभएको र त्यसमा बुझ्ने कार्य भइरहेको बताए। विना भन्सार कसरी गाडी बाहिरियो मलाई पनि थाहा भएन, उनले भने त्यसको लागि डाटा हेर्दैछु। – अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार