भोजपुर, ८ जेठ – प्रहरीको गोली लागेर विप्लव कार्यकर्ताको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको हो ।
घिमिरेको तिघ्रामा गोली लागेर घाइते भएका उपचारका लागि धरान लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेकाे पहिरोले बाटाे अवरुद्ध भएपछि समयमा अस्पताल पुर्याउन नसकिएको खतिवडाले बताए ।
गस्तीमा रहेको सुरक्षाकर्मीमाथि नेकपा विप्लवका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ ।
केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोलीले यो क्षेत्रमा गस्ती बढाएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले पेस्तोल, गोली, बायनाकुलर, प्रचार प्रसारका सामग्रीसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।